काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उच्च व्यवस्थापन समूह बैठक बुधबार सम्पन्न भएको छ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मन्त्रालयको लागि आवश्यक विषयगत विज्ञको सूची तयार गर्नुपर्ने र विषयगत विज्ञता र विशेषज्ञहरूलाई आपसमा जोड्नुपर्ने, कार्यसम्पादनलाई आवश्यकताका आधारमा पुनरावलोकन गर्नुपर्ने एवं नागरिकहरूमा आशा जागृत हुने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिइन्।
आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पुरा गर्न र सेवा प्रवाहमा देखा परेका जटिलताका बारेमा विश्लेषण गरी सहज कार्य वातावरण बनाउनुपर्ने, उच्च शिक्षामा देखिएका अस्पष्टतालाई आपसी छलफल र समन्वयबाट गति दिनुपर्ने, शिक्षकहरूको निवृत्तिभरण प्रक्रियामा सहजीकरण गर्नुपर्ने मन्त्री भट्टराईले उल्लेख गरिन्।
बैठक विशेषत कार्यविधि तथा निर्देशिकाको आवश्यकता तथा आवश्यक नरहेका के कति छन् सम्बन्धित विभागीय प्रमुखहरूले थप स्पष्ट भई मन्त्रालयमा पेश गर्ने, कानून शाखाको काम कारवाही थप प्रभावकारी बनाउने तथा विद्यालय तह(कक्षा ४-१०)को पाठ्यक्रममा विद्यार्थीले घरमा गरेको कामलाई विद्यालयको आन्तरिक मूल्याङ्कनमा समावेश गर्ने विषयहरूमा छलफल केन्द्रित थियो।
सो अवसरमा मन्त्री भट्टराईले हालसम्म निर्वाह गरेको भूमिकाको लागि छलफलमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै, आगामी दिनमा अझै सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिइन्। बैठकमा मन्त्रालयका सचिव (शिक्षा) र (विज्ञान) हेर्ने, महाशाखा प्रमुखहरू,विभिन्न विभागीय प्रमुखहरू सहितको उपस्थिति रहेको थियो।