पोखरा । नेपाली काङ्ग्रेस गण्डकी प्रदेशले ४९ औं राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसर पारेर आफ्नै सभाकक्षमा प्रवचन कार्यक्रम सम्पन्न गरेको छ । गण्डकी प्रदेश मातहत रहेका नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा, नेपाल कम्युनिष्ट एकीकृत समाजवादी, जनमोर्चा नेपाल, जनता समाजवादी लगायतका पार्टीका नेताहरूको उपस्थितिमा मेलमिलाप नितीबारे परिचर्चा भएको थियो ।
गण्डकी प्रदेशमा क्रियाशील पार्टीका नेताहरूको दृष्टिमा एकता र मेलमिलाप विषयक प्रवचनमा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको अध्यक्षतामा भएको हो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै, उनले राष्ट्रियता र प्रजातन्त्रका लागि वीपीले अँगालेको मेलमिलापको नीति अझैपनि समय सान्दर्भिक भएको बताए। राष्ट्रियता मात्र हैन उहाँले नेपाली जनताको जीवनस्तर माथि उकास्न गरेको योगदानको चर्चा गरेरै नसकिने बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रियता र प्रजातन्त्र स्थापित गर्नकै लागि उहाँले तत्कालीन राजासँग मेलमिलाप गरेको बताए । मुख्यमन्त्री पाण्डेले भने, ‘राष्ट्रियता र प्रजातन्त्र कमजोर भएको अवस्थामा वीपीले मेलमिलापको नीति लिनुभएको हो । मेलमिलापको नीतिका कारण हामी जनमत संग्रह हुँदै लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौ’, पाण्डेले थपे, ‘द्वन्द्वमा फसेको माओवादीलाई पनि शान्ति प्रक्रिया मार्फत प्रजातान्त्रिक बाटोमा ल्याइएका छौ।’
प्रजातन्त्रको रक्षा र समृद्धिलाई ध्यान दिँदै अहिले पनि दुई ठूला दल काँग्रेस र एमालेबीचमा मेलमिलाप गरेर अगाडि बढेको भनाइ उनको छ । राजनीतिक स्थिरता हुन सकेन भने नेपाली जनताले दुःख पाउने देखेर नै ठूला दलहरू मिलेर संरकार गठन गरेको बताउँदै उनले यो नीति भोलिका दिनमा पनि लागु हुने बताए ।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले प्रथम जननिर्वाचित वीपी कोइरालाले राष्ट्रियता जोगाउन ठूलो जोखिम मोलेको बताउँदै अहिले पनि उनको योगदानलाई भुल्न नसकिने बताए । राष्ट्रिय शक्तिलाई बलियो बनाउन आएको सङ्घीयताका बारेमा विरोध र टीका टिप्पणी गर्नु गलत भएको बताउँदै राजनीतिमा लाग्नु भनेको समाज सेवा भएको बताए। राजनीतिक अस्थिरताका कारण देश अराजकता तर्फ जान लागेकै कारण दुई ठूला दलहरू मिलेर सरकार गठन गरेको उनले स्पष्ट पारे । देशलाई राजनीतिक स्थिरता ठूला दलहरूले मात्र दिन सक्ने बताउँदै उनले नयाँ दलहरूले राजनीतिक स्थिरता दिन नसक्ने बताए ।
नेकपा (एकीकृत समाजवादीं) का केन्द्रीय सचिव श्रीनाथ बरालले वीपीले अगालेको बाटोलाई दलहरूले अगाल्दै जाने हो भने नेपालमा धनी र गरीवबीचको खाडल कम हुँदै जाने बताए। त्यति बेलाको समयमा प्रवासमा बसेकै बेला राष्ट्रियता र प्रजातन्त्र प्रति चिन्तित वीपीको मेलमिलाप नीतिबाट नै आज हामी यहाँसम्म आइपुगेको भनाइ उनको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वमन्त्री पञ्चराम गुरुङले मुलुक बचाउन फुटेर मैन मिलेर जानुपर्छ भन्ने नीति लिएकै कारण वीपी राजनीतिमा सफल भएको बताउँदै देशको ठूलो पार्टी नेपाली कााग्रेसले प्रजातन्त्र र देशप्रति माया गर्ने दलहरुलाई समेटेर अगाडि वढ्नु पर्ने बताए । राष्ट्रिय जनमोर्चाका नेता शंकर बरालले राष्ट्रियता र प्रजातन्त्र रक्षाका लागि वीपी कोइराला दुरदर्शी नेताको रुपमा चिनिर्दै आएको बताउँदै लोकतन्त्र नै खतरामा पार्ने गरी ल्याइएको संघीयता खारेज गर्नुपर्नेमा जोड दिए ।
नेपाल समाजवादी पार्टीका नेता किरण थापाले राष्ट्रियता भूगोलमा मात्र नभएर नेपाली जनताले पनि अनुभूति गर्नु पाउनु पर्ने बताए । वीपीको मेलमिलाम नीतिलाई ठूला पार्टीले त्यति महत्व नदिएको भनाई उनको छ । आफूमाथि मृत्युदण्डका आठ–आठवटा मुद्दा चलिरहँदा पनि स्वदेश फर्कने निर्णय गरेर जननेता बीपी कोइरालाले साहसको उच्च उदाहरण प्रस्तुत गरेका थिए ।
आफ्नो ज्यानको समेत पर्वाह नगरी २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर बीपी स्वदेश फर्केपछि करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग्दै बीपीसँगै गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थी लगायत नेता–कार्यकर्ता स्वदेश फर्किएको दिनलाई कांग्रेसजनले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ । नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारीले समापन गरेको उक्त कार्यक्रमको संचालन प्रवक्ता माधवप्रसाद बास्तोलाले गरेको जानकारी नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य एवं प्रचारप्रसार उपसंयोजक शिरोमणि बरालले दिए ।