पोखरा । पोखरामा अङ्ग्रेजी नयाँ वर्ष २०२५ लाई सामूहिक रुपमा भव्य रुपमा स्वागत गरियो । सबैलाई एकैठाउँमा जमघट गराउने व्यवस्था भने रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले मिलाएको थियो । २६ औं संस्करणको ‘पोखरा सडक महोत्सव’को आयोजना गरेर ।
लेकसाइडको करिब ३ किमि क्षेत्रको सडकमा आयोजना गरिएको महोत्सवलाई व्यवस्थित गर्नको लागि अम्मट, खहरे, गौरीघाट र हल्लनेचोकमा स्टेज निर्माण गरेर विभिन्न कार्यक्रम गरिएको थियो । जहाँ दर्शकलाई रमाउनको लागि विभिन्न साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू राखिएको थियो । ती कार्यक्रममा रम्ने र रातको समयमा लेकसाइडको ३ किमि क्षेत्रमा हिड्नेको भिडले बेग्लै रौनकता थपेको थियो ।
ठाउँ–ठाउँमा भएका भजनले समेत उपस्थित दर्शकलाई रमाउने वातावरण निर्माण गरेको थियो । कोमागाने पार्कमा मुख्य स्टेज रहेको थियो । सडकमा भएका कार्यक्रम निःशुल्क रुपमा दर्शकले हेर्न पाएपनि यहाँ प्रवेश गर्न भने शुल्क अनिवार्य रहेको थियो । शुल्क तिरेरै पार्कमा भैरहेको पप कन्सर्टमा झुम्नका लागि ठुलो सङ्ख्यामा दर्शक जम्मा भएका थिए । इभको कार्यक्रमलाई भव्य र आकर्षक बनाउन विगतदेखि हुँदै आएको आतिशबाजी यो वर्ष पनि रेबान पोखराले निरन्तरता दियो । आतिशबाजीको कारण समेत महोत्सवमा बेग्लै रौनकता थप्यो । हुनत आतिशबाजीको कारण पर्यावरणमा असर गरेको भन्ने गुनासो विगतदेखि हुँदै आएको थियो । यसका अलावा नयाँ वर्षलाई लक्षित गरेर पोखरामा रहेका तारे होटल तथा रेष्टुरेन्टले विभिन्न कार्यक्रम समेत आयोजना गरेका थिए । ती कार्यक्रममा रमाउनेको भिड समेत उस्तै थियो ।
पुष १३ गतेबाट आयोजित महोत्सवको समापन आज हुने रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए । यो वर्षको महोत्सवको अवधिमा ५ लाख भन्दा दर्शक लेकसाइडमा पुग्ने आयोजकको अनुमान छ ।
महोत्सवको कारण न्यू इयर इभको रातमा यहाँका होटलको अकुपेन्सी समेत ८० प्रतिशतको हाराहारीमा पुगेको होटल सङ्घ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले दावी गरे । होटल, रेष्टुरेन्ट, बार, क्लबमा मात्र नभएर त्यहाँ रहेका सानादेखि ठूला सबै खालका व्यवसाय गर्नेहरू ग्राहकको सेवामा व्यस्त देखिन्थे ।
सडक महोत्सवको सुरुवात रेबान पोखराका संस्थापक अध्यक्ष हरि गुरुङले गरेका हुन् । बसुन्धरा पार्क भित्र कार्यक्रमको आयोजना गरि शुरु गरिएको महोत्सव सन् २००० पछि सडकमा समेत झारिएको बताइन्छ ।
सडक महोत्सवको आयोजना हुन थालेपछि अङ्ग्रेजी नयाँ वर्ष मनाउन पोखरा आउने आन्तरिक तथा बाह्रय पर्यटकको सङ्ख्यामा वृद्धि हुदै गएको आयोजकको भनाई छ । महोत्सवबाट फर्कनेको लागि पोखराका मुख्य बजारमा सार्वजनिक बस राती अबेरसम्म सञ्चालन भएकोले उपस्थित दर्शकलाई सहजता भएको थियो । ठुलो सङ्ख्यामा दर्शक र सवारीसाधनको भिड हुँदा त्यसलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरी र आयोजकलाई मुस्किल पर्यो ।