पोखरा । पोखरा महानगरपालिका २८ कालिकामा मा अवस्थित श्री जनज्योति माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव, अविभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले पोखरा २८ को शिक्षा क्षेत्रको सुधारका लागि वडा कार्यालयबाट कुनै पनि कमी नहुने बताउँदै यसको लागि सहकार्य गरेर वडाको शिक्षा क्षेत्रमा विकास गर्न आवश्यक रहेको बताए । वडा अध्यक्ष लामिछानेले अभिभावक, शिक्षक र विद्यार्थीहरूको साझा प्रयासबाट नै शिक्षाको गुणस्तर वृद्धि गर्न सकिनेमा जोड दिए ।
विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेस कास्कीका निवर्तमान् सभापति कृष्ण केसीले सामुदायिक विद्यालयको गुणस्तर बढाउन स्थानीयवासीको नै सक्रियता आवश्यक भएको बताए । उनले विद्यालयका शिक्षकहरू उत्तरदायी नभएसम्म विद्यालयको शैक्षिक गुणस्तर बढाउन नसकिने बताए ।
विद्यालयका प्रधानाध्यापक रुद्ध बहादुर थापाले विद्यालयको भौतिक र शैक्षिक अवस्थाको बारेमा प्रतिवेदन पेश गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका २८ का वडा सदस्यहरू डाल्डादेवी भुजेल, विरेन्द्र भण्डारी विद्यालयका सल्लाहकार सूर्य प्रसाद भण्डारी रत्नशोभा माविका प्रअ गोपाल बुढाथोकी सीतलादेवी मावि पोखरा १२ का प्रअ बाबुराम अधिकारी विद्यालयका भूपू विद्यार्थी तथा सल्लाहकारहरू कृतिवल्वभ त्रिपाठी शुक्रराज अधिकारी प्राध्यापक नरेश पौडेल अभिभावक बलराम त्रिपाठी विद्यालयका पूर्व प्रअ माधव प्रसाद पौडेल विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भोलानाथ त्रिपाठी लगायतले बोलेका थिए ।
विद्यालयका शिक्षक बेदराज खनाल तथा विद्यार्थी सुगम पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक शेखरनाथ तिवारीले गरेका थिए ।
सो अवसरमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । विद्यार्थीहरूले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।