लेखनाथ। ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ लेखनाथमा सञ्चालन हुन गइरहेको २० औं संस्करणको लेखनाथ महोत्सवको तयारी पुरा भएको छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको शतप्रतिशत तयारी पुरा भएको र विहीबार एक समारोहकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्‌घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका मूल संयोजक एवं लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य सङ्घले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात/जाति भाषा/भाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए । उनले महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादित वस्तुहरूको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरूको उत्पादनहरूको प्रर्दशनी एवं बिक्रीवितरण गरिने बताए ।

पुष १८ गते देखि माघ १ गते सम्म चल्ने महोत्सवको माध्यमबाट स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरूमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरूको प्रवर्द्धन, जातीय भेषभुषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना, आन्तरिक एवं वाह्य पर्यटकहरू आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्‍याइने महोत्सवका प्रचार प्रसार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य सङ्घकी महासचिव जानुका पराजुली अधिकारीले बताइन ।

महोत्सवको थप आकर्षणको रुपमा महोत्सवस्थलमा शान्तिका दुत भगवान गौतम बुद्धको प्रतिमा निर्माण, अक्वारियम मार्फत एक सय भन्दा बढि माछाका प्रजातिहरूको अवलोकन, महिलाहरूको क्षमता अभिवृद्धिका लागी पहिलोपटक आयोजना गरिएको हाजिर जवाफ प्रतियोगिता, एलइडी डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरूको प्रवर्द्धन, राष्ट्रिय स्तरका चर्चित कलाकारहरूबाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरू रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिदै आएको महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित प्रस्तुती, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगित, लाईभ कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरुको रुपमा प्रस्तुती रहने छन् ।

महोत्सवको विद्यालय स्तरीय कार्यक्रम अर्न्तगत पुस ११ गते बिहिबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ । उक्त प्रतियोगितामा विद्यार्थीहरुबाट कोरिएका चित्रहरु महोत्सवस्थलबाट विक्रि वितरण गर्ने व्यवस्था समेत मिलाईएको छ ।

महोत्सवमा पोखरा विश्वविद्यालय इन्जिनियरिङ फेकेल्टी, रोबोटिक क्लब, गण्डकी विश्वविद्यालय आविष्कार केन्द्र तथा विभिन्न विद्यालयहरुबाट शैक्षिक प्रदर्शनी हुनेछ भने विभिन्न जातजातिहरुको मौलिक सांस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरू रहनेछन ।

महोत्सवको बचतवाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकास तर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीहरुद्धारा उत्पादित वस्तुहरूको प्रवर्द्धनका लागि उत्कृष्ट स्तरको कोसेली घर निर्माण, संघद्धारा बेगनासतालमा निमार्ण गरिएको लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको लेखनाथ महोत्सव २०८१ का कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि ९ सदस्यीय निर्देशक समिति, ४० सदस्यीय महोत्सव सल्लाहकार समिति र ४८ उपसमिति, आवश्यकता अनुसार थप गर्न सकिने गरि १५३ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । ३३६ स्टल रहने यस महोत्सवमा २ लाख पचास हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९० लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८० लाख खर्च भई रु १० लाख बचत हुने अनुमान गरिएको छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0