पोखरा । लोक कवि अलि मियाँको स्मृतिमा चौथो खुला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा माछापोखरी फुटबल मैदानमा माघ १३ देखि प्रतियोगिता हुन लागेको हो ।
समितिका अध्यक्ष अब्बास अलिमियाँले आँउदो माघ १३ देखि २० गतेसम्म प्रतियोगिता गर्न लागिएको जानकारी दिए । दुई वर्षको अन्तरालमा प्रतियोगितामा गर्ने उद्देश्य भए पनि विविध कारणले गत वर्ष प्रतियोगिता आयोजना गर्न नसकिएको अलिमियाँले बताए । तेस्रो संस्करणको प्रतियोगिता २०७८ मा सम्पन्न भएको थियो ।
प्रतियोगितामा ४० भन्दा बढी टिमले सहभागिता जनाउने अपेक्षा गरिएको समितिका सचिव महोमद तारीक अजिजले बताए । तेस्रो संस्करणमा ४३ टिको सहभागिता रहेको थियो, यो वर्ष पनि ४०–५० टिमको सहभागिता हुने अपेक्षा गरेका छौँ, अजिजले भने ।
आयोजकले प्रतियोगिताको पुरस्कार राशि पनि बढाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्वितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने खेल संयोजक नाजिम अलीले जानकारी दिए ।
यस पहिलेको तेस्रो संस्करणमा प्रथम पुरस्कार १ लाख २५ हजार र द्वितीय पुरस्कार ७५ हजार विजेता र उपविजेताले पाएकोमा यस पटक पुरस्कार राशि वृद्धि गरिएको आयोजकले जनाएको छ ।
यस्तै विधागत तर्फ ५ विधामा खेलाडीलाई पुरस्कृत गरिने छ । वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५/५ हजारले पुरस्कार पाउने छन् ।
प्रतियोगिताको पहिलो संस्करण २०७२ र दोस्रो संस्करण २० ७४ सालमा भएको थियो । स्थानीय खेलाडीलाई प्रोत्साहन र फुटबलको विकास गर्ने उद्देश्यसहित समाजले प्रतियोगिता सञ्चालन गर्दै आएको समितिका उपाध्यक्ष नरकत अलिमियाँले बताए ।
समितिका सहकोषाध्यक्ष सम्सुल हकले प्रतियोगिता सम्पन्न गर्न १० लाख भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको बताए । पुरस्कार राशीमा वृद्धि र व्यवस्थापन खर्च समेत बढेकाले प्रतियोगिता खर्च बढ्नसक्ने उनको भनाई छ ।
स्थानीयवासी, अगुवा समाजसेवी साथै महानगरका वडा कार्यालयहरूको सहयोगमा प्रतियोगिताको आर्थिक स्रोत जुटाउन
समितिले प्रतियोगिताका लागि टिम दर्ता खुला गरिसकेको जनाएको छ । ७ हजार तिरेर टिम दर्ता गर्न सकिने समितिले जनाएको छ ।
युवाहरूलाई सकारात्मक सोचको विकास गर्न र समाजिक कार्य गर्ने उद्देश्यले २०५२ सालमा संस्था दर्ता गरिएको अध्यक्ष अलिमियाँले जानकारी दिए । समाजले रक्तदान, खुला व्यायामशाला ,दैविक विपद् र आर्थिक समस्यामा परेकालाई सहयोग साथै युवालाई सकारात्मक कार्यमा लाग्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । समितिको अगुवाइमा २०७९ असारमा मियापाटन क्षेत्रलाई मद्यपान निषेधित क्षेत्र घोषणा गरिएको छ ।