पोखरा । नेपाल पत्रकार महासङ्घ कास्कीमा नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न सञ्चार जगतलाई व्यवस्थित एवम् मर्यादित बनाउन पर्ने बताए ।
उनले राजनीतिक अस्थिरताले नीतिगत स्थायित्व नहुने र सरकारका कुनै पनि अङ्गले राम्रो सँग काम गर्न नसक्ने बताए । आम सञ्चार विधेयक बन्ने प्रकियामा रहेकाले सरोकारवाला सँग छलफल गरेर मात्र विधेयकलाई संसद्मा पेश गरिने बताउँदै यसलाई प्रभावकारी बनाउन सबैको सुझाब आवश्यक रहेको बताए ।
सञ्चारमन्त्री गुरुङले अरु सञ्चार मध्यमले ऐन, कानुन पालना र पत्रकार आचारसंहिता पालना गरेको भएपनि धेरै अनलाइनहरु अराजक बनेको औंल्याए । ऐन, कानुन नमान्ने र पत्रकारिताका मान्यताहरुको खिल्ली उडाउने त्यस्ता अनलाइनहरुलाई नियमनभन्दा नियन्त्रण जरुरी भएको उनको भनाइ थियो ।
उनले सरकार बन्नेबित्तिकै सरकार ढल्छ भनी अफवाह फैलाउन सुरु गरिएको टिप्पणी गर्दै उनले देशलाई समृद्धिको बाटोमा लैजान यो सरकारको विकल्प नभएकोमा जोड दिए । समृद्धि र विकासका लागि सञ्चार क्षेत्रसमेत जिम्मेवार र उत्तरदायी हुनुपर्ने उनको भनाइ छ । उनले पुँजिगत खर्च नबढ्दा सम्स्या भएको बताए । नेपाल सरकारका प्रवक्तसमेत रहेका संसदीय छानबिन समितिले दिएको प्रतिवेदको आधारमा दोषी देखिएका जुनसुकै पार्टीमा आवद्ध भएका भएपनि कारवाही गरिने दावी गरे ।
नेपाली काङ्ग्रेस कास्कीका सभापति किशोर दत्त बरालले पत्रकारको स्वाभिमान कमजोर हुँदा लोकतन्त्र कमजोर हुने बताउँदै लोकतन्त्र बलियो हुन पत्रकार स्वाभिमानी हुनु पर्ने भनाइ राखे । नेकपा माओवादी केन्द्र कास्कीका इन्चार्ज विश्व प्रकाश लामिछानेले सुशासन र सामाजिक न्यायका लागि पत्रकारिताले कलम चलाउनुपर्ने बताए ।
नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष एवम् गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारीले आफ्नो कार्यकाल सफल बनाउन सक्रिय आफ्नो नेतृत्वको कार्यसमितिलाई धन्यवाद दिदैँ नयाँ कार्यसमितिलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना दिइन् । अध्यक्षका प्रत्यासी राजेन्द्र अधिकारीले वर्तमान कार्यसमितिको सही निर्णयमा साथ र सर्मथन र गलत निर्णयमा खबरदारी गर्ने बताए ।
नवनिर्वाचित नेपाल पत्रकार महासङ्घका अध्यक्ष माधव बरालले अग्रज र सल्लाहकारको साथमा महासङ्घलाई सबै पत्रकारको साझा संस्था बनाइ महासङ्घको गरिमा उच्च बनाउन आफू नेतृत्वको कार्यसमिति प्रतिबद्ध भएर काम गर्ने बताए ।
निर्वाचन समितिका संयोजक पुण्य पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत निर्वाचन समितिका सदस्य रविन्द्र बास्तोला र सञ्चालन निर्वाचन समितिका सदस्य अधिवक्ता गोविन्द पौडेलले गरेका थिए ।
मंसिर २८ गते सम्पन्न भएको निर्वाचन मार्फत अध्यक्षमा माधव बराल, उपाध्यक्ष माधव रेग्मी, उपाध्यक्ष महिला कञ्चन थापा, सचिव भुपाल गुरुङ, सह सचिव मधु अधिकारी, सहसचिव समावेशी धन बहादुर गुरुङ (सुमन), कोषाध्यक्ष राजाराम पौडेल, कार्यसमिति सदस्य अर्जुन गाहा (सुशान्त), गौरव त्रिपाठी, , राजु गिरी, बालकुमारी पौडेल (तारा), सन्तोष सुवेदी, रिखिराम जिसी, तुलसीराम सुवेदी, निराजन अधिकारी, पुष्पराज दाहाल, महिला सदस्यमा कविता घर्तिमगर, दलित सदस्यमा सुरेश सुनार, आदिवासी सदस्यमा पुनम थापा मगर र अन्य समावेशीमा सूर्य परियार निर्वाचित भएका हुन ।
निर्वाचित कार्यसमितिले पहिलो वैठक बसी निवार्चन कमिटी सहित निर्वतमान कार्यसमितिलाई धन्यवाद ज्ञापन सहित, यसअघि महासङ्घको सदस्यता प्राप्त गर्नका लागि सिफरिस भएका १८ जना पत्रकारहरुलाई महासङ्घको सदस्यताका लागि गण्डकी प्रदेश समिति समक्ष पुनः सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ ।