पोखरा । पोखरामा विशेष कार्यक्रम आयोजना गरेर पहिलो विश्व ध्यान दिवस २०८१ मनाइएको छ । राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले विभिन्न कार्यक्रम गरेर मनाएका हुन्।
डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । विश्व ध्यान दिवसका अवसरमा पोखरामा गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले कार्यक्रम आयोजना गरेको हो ।
ध्यान दिवसको अवसरमा पोखरा रंगशालामा आयोजित कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले ध्यानले व्यक्तिको मानसिक स्वास्थ्य, आत्मविश्वास र समग्र जीवनशैलीमा सकारात्मक प्रभाव पुर्याउने बताए। समृद्ध र शान्त समाज निर्माणका लागि ध्यान अभ्यासलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
जीवन विज्ञान प्रतिष्ठान, पतञ्जलीयोग समिति नेपाल, ओशो उपवन आध्यात्मिक ग्राम, समर्पण ध्यान योग नेपाल, पातञ्जल योग समिति नेपाल, द आर्ट अफ लिभिङ पोखरा नेपाल, मनोक्रान्ति अभियान तथा विकासानन्द फाउण्डेसन विश्व परिवार संघ, बह्रमकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपालको सहआयोजनामा विश्व ध्यान दिवसको कार्यक्रम सम्पन्न भएको हो ।
मन्त्रालयका निमित्त सचिव तोयानाथ लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निमित्त महानिर्देशक अम्बिका प्रसाद आचार्यले गरेका थिए ।