पोखरा । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले आफ्नो कार्यकालको एक सय दिनका उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्री केसीले मङ्गलबार मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर सय दिनका सय उपलब्धि सार्वजनिक गरेका हुन् ।

 उनले आफू मन्त्री भएपछि कास्कीका दुई र तनहुँ, बागलुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का यातायात कार्यालयमा टोकन सिस्टम लागू गर्न सफल भएको दाबी गरे । उनले यातायात कार्यालयमा सेवाग्राहीको सहजताका लागि हेल्प डेस्क पनि आफ्नो पहिलो निर्णयअनुसार नै कार्यान्वयन भएको बताए । साथै आफूले ‘हनिमुन पिरियड’ मन्त्रालय र मातहत बाहेक अन्य काममा नखर्चिएको मन्त्री केसीले सुनाए ।

 ‘मन्त्री भएपछि पहिला आफ्नो मन्त्रालयबारे बुझ्नुपर्छ । त्यसैले मैले यो एक सय दिनको अवधि मन्त्रालयको आन्तरिक अवस्था र आफ्नो कार्यालयहरूको अवस्था बुझ्न खर्चिएँ,’ उनले भने, ‘यो सय दिनको सिकाइले मलाई अब मन्त्रालयलाई कसरी चलाउने ? कमजोरी कहाँ छ ? कसरी समाधान गर्न सकिन्छ ? भनेर सिकेको छु ।’ मन्त्री केसीले सय दिनको अवधिमा आफूले मनाङबाहेक सबै यातायात र पूर्वाधार विकास कार्यालयको निरीक्षण गरेर त्यहाँको समस्या बुझेको बताए । प्रदेशमा राइड सेयरिङलाई वैधानिकता दिन कार्यविधिको मस्यौदा तयार भएको उनले जानकारी दिए ।

 ‘राइड सेयरिङको मस्यौदामाथि सम्बन्धित पक्षसँग पटकपटक छलफल भएको छ । यो पनि छिट्टै टुंग्याउने पक्षमा छौं,’ उनले भने । मातहतको कार्यालयका प्रमुखलाई ढिलोमा पुस मसान्तसम्म ठेक्का प्रक्रियाको काम सक्न निर्देशन दिएको मन्त्री केसीले बताए । ‘म समय हुँदा काम नगर्ने अनि असारे विकासमा समय खर्चने पक्षमा छैन । त्यसैले मेरो मातहतको कार्यालय प्रमुखलाई ढिलोमा पुस मसान्तसम्म ठेक्काको काम सक्न भनेको छु,’ उनले भने ।

 मन्त्रालयका १८४६ योजनामध्ये ३८ सकिएको, ४८५ निर्माणाधीन रहेको, २६५ मूल्याङ्कनको चरणमा रहेको, ३ सय योजना बोलपत्र आव्हान भएको र ४८८ योजना लागत अनुमान तयार भई स्वीकृतिको चरणमा रहेको मन्त्री केसीले जानकारी दिए । लाइसेन्सको नतिजा आफू आउनुअघि एक महिना लाग्ने गरेकोमा अहिले बढीमा १० दिनमा हुने गरेको मन्त्री केसीले बताए । ‘प्रदेशमा चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षाको नतिजा सफ्टवेयरमा एक महिनामा मात्र अद्यावधिक गर्ने गरिन्थ्यो । तर, अहिले हामी आएपछि कास्कीको हकमा १० दिनभित्र र अन्य कार्यालयले ७ दिनभित्र नतिजा अपलोड गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘अहिले फारम भरेको १० दिनभित्र लिखित तथा ट्रायल परीक्षा दिने व्यवस्था छ ।’ 

मन्त्री केसीले चालु आर्थिक वर्षको प्रथम चौमासिकसम्म प्रदेश सरकार स्थापना भएयताकै उच्च विकास खर्च गरेको उपलब्धि विवरणमा उल्लेख छ । मन्त्रालयले हालसम्म १०.०१ वित्तिय र १२.६ प्रतिशत भौतिक प्रगति हासिल गरेको उनले जानकारी दिए । मन्त्रालयअन्तर्गतका १९ वटा कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामा ७६ करोड ३९ लाख ३२ हजार ३ सय ७० राजस्व संकलन भएको मन्त्री केसीले बताए । सेवाग्राहीको चाप एउटा कार्यालयमा मात्र नपरोस् भन्ने उद्देश्यले लेखनाथमा पनि यातायात कार्यालय स्थापना गर्ने तयारी गरेको मन्त्री केसीले जानकारी दिए । त्यसका लागि संघ सरकारको स्वामित्वमा रहेको जग्गा मन्त्रालयले उपयोग गर्न गत मंसिर १७ गतेको मन्त्रिपरिषद् निर्णयले स्वीकृति माग गर्ने निर्णय भएर प्रक्रियामा रहेको उपलब्धि पुस्तिकामा उल्लेख छ ।

 बागलुङको मालढुंगा–गलुवा–पाक्जा सडकअन्तर्गतको दब्ल्याङ्गको पहिरो र कास्कीको नयाँपुल–घान्द्रुक सडकमा साढे दुई महिनादेखि अवरुद्ध सडक दसैंअघि नै पहिरो हटाएर सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । आफू मन्त्री भएयता १६.७ किलोमिटर प्रादेशिक सडकको कालोपत्रे÷पक्की सडक निर्माण भएको, ११.९३५ किलोमिटर सडक चौडा बनाउने र ग्राभेलस्तरमा स्तरोन्नति गर्ने कार्य भएको, १९ किलोमिटर सडक पक्की ढलान गर्ने काम भएको मन्त्री केसीले बताए । वार्षिक विकास कार्यक्रममा समावेश भएका तर योजनाको नाम, ठेगाना संशोधन गर्नुपर्ने, दोहोरोपन, स्थानीय विवादलगायत विविध कारणले २७१ वटा योजना कार्यान्वयन हुन बाँकी रहेकोमा ती योजनाहरुको संशोधनको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0