पोखरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्कीले बुधबार देखि गर्ने “‘विद्यार्थी महोत्सव” को तयारी पूरा भएको जनाएको छ । अनेरास्ववियुका कास्की अध्यक्ष सन्तोष पोखरेलले मङ्गलबार आयोजित पत्रकार सम्मेलन मार्फत महोत्सवको सबै तयारी पूरा भएको बताएका हुन् । महोत्सव बुधबार र बिहीबार पृथ्वीनारायण क्याम्पसको प्राङ्गणमा सञ्चालन हुने छ । महोत्सवको मुख्य आकर्षणको रुपमा विज्ञान प्रदर्शनी रहनेछ । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर स्टल समेत राखिनेछ ।
महोत्सवको पहिलो दिन बुधबार उद्घाटन समारोहसँगै अनुसन्धान र विकासमा विश्व विद्यालय विषयमा अन्तरसंवाद हुनेछ । यस्तै चित्रकला प्रतियोगिता, नृत्य प्रतियोगिता, कविता प्रतियोगिता र लाइभ कन्सर्ट हुनेछ । लाइभ कन्सर्टतर्फ रचना रिमाल, डिमोर्चा ब्याण्ड, लेकाली व्याण्ड, देउराली ब्याण्ड र टुकीको प्रस्तुती रहनेछ । यसका अलावा आँखा तथा दाँतको स्वास्थ्य शिविर समेत त्यहाँ आयोजना हुनेछ ।
विश्वविद्यालयमा देखिएका विकृतिका विरुद्धमा साङ्केतिक कार्यक्रम गर्न लागेको अध्यक्ष पोखरेलको भनाइ छ । विश्वविद्यालय प्रति विद्यार्थीका गुनासो र उनीहरूलाई परेका समस्या बारेमा समेत त्यहाँ राख्न पाइनेछ । अन्तरक्रिया कार्यक्रम समेत महोत्सवमा हुनेछ ।
विद्यालय र विश्वविद्यालय तहमा अध्ययन गर्दै गरेका विद्यार्थीको आविष्कारलाई प्रवर्द्धन र प्रोत्साहन गर्ने तथा विद्यार्थीलाई सिकाउनका निमित्त महोत्सव आयोजना गरिएको अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका सह इन्चार्ज विजय पौडेलले बताए । यस्ता कार्यक्रम सरकारका विभिन्न निकायले गर्नुपर्नेमा उनको जोड रहेको थियो ।
कास्की जिल्लामा भएका क्षमतावान् विद्यार्थीलाई पढाइका अलावा अन्य रचनात्मक क्रियाकलापमा जोड्नुका साथै प्रतिभा देखाउने अवसरको रुपमा महोत्सव आयोजना गरिएको अनेरास्ववियु कास्की इन्चार्ज अनुप लामिछानेले बताए ।
महोत्सवको नेकपा एमालेका महासचिव शङ्कर पोखेरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा ५० वटा स्टल राखिने छ । अनेरास्ववियु कास्कीका अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलन सचिव रवि क्षेत्रीले पनि बोलेका थिए ।