पोखरा । नवौँ संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले दिएको जानकारी अनुसार महोत्सवको भोलि मंसिर २३ गते आइतबार मध्यान्ह १२ बजे समउद्घाटन गरिनेछ । यो महोत्सव अध्ययन गर्न चाहनेको लागि महत्वपूर्ण अवसर बन्ने भन्दै सबैलाई महोत्सवमा सहभागी भैदिन उनले अनुरोध गरेकी छन् । अन्य महोत्सव भन्दा पृथक ज्ञानवर्दक भएकोले अन्य क्षेत्रका अलावा विद्यालय तथा क्याम्पसका विद्यार्थी सहित शैक्षिक क्षेत्रका व्यक्तिहरूका लागि उपयुक्त्त हुने उनको भनाइ छ । मंसिर २७ गतेसम्म चल्ने महोत्सवको अवलोकन नि:शुल्क रुपमा  गर्न पाइनेछ । विद्यार्थीलाई अनौपचारिक सिकाइको लागि सहयोगी बन्न सक्छ भन्ने विश्वास उनको रहेको छ।

महोत्सवमा नेपालका हिमाली क्षेत्रका परेका परिवर्तनका असरहरूलाई महत्वका साथ उठान गरिनेछ । हिमाली क्षेत्रमा जनजीवन असहज भैरहेकोले त्यसलाई कसरी सहज बनाउदै जलवायु परिवर्तन हुने खालका गतिविधिलाई नियन्त्रण गर्दै जनजीवनजलाई सहजीकरण गर्ने भन्ने विषयमा बौद्धिक खालको अन्तरक्रिया हुने कार्यकारी निर्देशक न्यौपानेको भनाइ छ । पोखरेलीले चासो राखेका बौद्धिक वर्गलाई समेत राखेर बहस कार्यक्रम गर्न लागेको हुनाले सहभागी बन्न उनको आग्रह छ ।

नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखराले संयुक्त रुपमा महोत्सवको आयोजना गर्न लागेका हुन् । पहिलो दिन डिसेम्बर ८ मा पर्वतीय जीवन, अनुकूलन र भविष्यबारे अन्तरक्रिया कार्यक्रम हुनेछ । दोस्रो दिन पर्वतीय पर्यटनका सम्भावना र अवसरबारे विज्ञहरूले आफ्नो अभिमत राख्नेछन् । तेस्रो दिन डिसेम्बर ११ मा पहाडी क्षेत्रमा शौचालयको महत्वबारे सरोकारवालाको सहभागितामा अन्तरक्रिया हुनेछ । महोत्सवको चौथो दिन अनुभवी पर्वतारोहीसँग पर्वतारोहणका रोमाञ्चक क्षण, तयारी, दुःख र भावी सम्भावनाबारे छलफल हुनेछ । अन्तिम दिन अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनका असरबारे विमर्श गरिनेछ । महोत्सवमा स्थानान्तरण भैरहने चराहरू सम्बन्धी जनचेतनामूलक नाटक प्रदर्शन समेत हुनेछ । यसका अलावा सङ्ग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि सञ्चालन गरिनेछ ।

यसपालिको महोत्सव ५० हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सव आयोजना गर्न ३२ लाख खर्च हुने जानकारी गराइएको छ । महोत्सवले पर्वतीय क्षेत्रका बासिन्दाको आर्थिक स्तर अभिवृद्धि गर्दै पर्वतीय वातावरण, जैविक विविधता, प्राकृतिक स्रोत लगायतको महत्व उजागर गर्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

महोत्सवमा २० वटा स्टल रहनेछन् । इसिमोड, डब्लुडब्लुएफ, एफएओ, नेपाल टेलिकम, एक्याप, बर्ड कन्जरभेसन नेपाल लगायतका सङ्घ संस्थासँग सहकार्यमा महोत्सव हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0