पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ऋग्वेद जस्ता पूर्वीय वाङ्मयसँग सम्बन्धित ग्रन्थहरू केवल परम्परागत धर्मग्रन्थ मात्र नभएर नेपाली समाजका सांस्कृतिक धरोहर रहेको बताए । मुक्त फाउण्डेसन पोखरा र गण्डकी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दुई दिवसीय ऋग्वेद र हिमालयः दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको शुभारम्भ गर्दै प्रमुख अतिथि भट्टले ऋग्वेद एवं अन्य पूर्वीय बाङ्मयको सम्बन्धमा वस्तुगत अध्ययनको नयाँ परम्परा स्थापित गर्न यस्ता सम्मेलनले सघाउ पुग्ने बताए ।
संस्कृति र पर्यटन मूल मन्त्रका साथ ऋग्वेदीय परम्परा र हिमालय क्षेत्रका विविध संस्कृतिहरूसँगको यसको सम्बन्धको गहिरो अन्वेषण गर्ने लक्ष्यका साथ दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गरिएको आयोजकले जनाएको छ । देश विदेशका स्कलर्स, रिसर्चर सहभागी सम्मेलनमा ऋग्वेद तथा वैदिक मान्यता, विधि र आयाम, हिमालय संस्कृति र पर्यटनका बारेमा अनुसन्धानात्मक लेखहरू प्रस्तुत गरिने र विद्वत् छलफल गरिने कार्यक्रम छ ।
प्रदेश प्रमुख भट्टले नेपाल लगायत विभिन्न देशका वेदका ज्ञाताले ऋग्वेद र हिमाली सभ्यताका आयामबारे गरिने विचार मन्थन फलदायी हुने विश्वास लिँदै सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै धर्म, संस्कृति तथा पर्यटन सम्बन्धी नीति निर्माण र कार्यान्वयनमा रहेका पदाधिकारी एवं प्राज्ञिकहरू लाभान्वित हुनेमा आशावादी रहेको बताए । वैदिक ज्ञान एवं आधुनिक समाज विज्ञानका ज्ञाताहरूका बीचमा वस्तुगत अध्ययनका लागि सहकार्यको नयाँ सम्भावना खुलेको बताउँदै प्रदेश प्रमुख भट्टले यस्ता सम्मेलनले हिमाली समाज र संस्कृतिका मूल्य र मान्यताको जागरणको ढोका खुल्ने उल्लेख गरे ।
‘हिमालय क्षेत्रको सांस्कृतिक तथा धार्मिक परिदृश्यलाई गहिरो रुपमा प्रभाव पारेको ऋग्वेद, मानव जातिको सबैभन्दा पुरानो र र प्रभावशाली ग्रन्थहरूमध्ये एक हो । मानवताको संरक्षण र पृथ्वीको संरक्षण जस्ता सार्वभौम सिद्धान्तमा आधारित यस ग्रन्थ २१ औं शताव्दीमा मानव मूल्यहरूको सङ्कट सामनाका लागि सहयोग सिद्ध हुने ठानी आयोजकले सान्दर्भिक र समयसापेक्ष विषयमा आयोजना गरेको यो सम्मेलन महत्वपूर्ण छ ।’ प्रदेश प्रमुख भट्टले भने ।
ऋग्वेदीय सिद्धान्तहरूको पुनरावलोकन र पुनर्जीवन प्रदान गर्ने उद्देश्यका साथै हिमालय संस्कृतिमा परेको प्रभाव र आधुनिक चुनौतीहरूको समाधानको लागि सम्भाव्य अन्वेषण गर्ने प्रयासले मूर्त रूप लिन सकोस् भनी उनले शुभेच्छा प्रकट गरे । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची पनि बोलेका थिए ।
सम्मेलनका विशेष वक्ताहरुमा प्राडा विणा पौडेल, छक्क बहादुर लामा, प्राडा कृष्णचन्द्र शर्मा, प्राडा विनोद पोखरेल, प्राडा ऋषिराम रेग्मी रह । माया तिम्सिना, डा. महाश्रम शर्मा, सचिव कुलमान सिंह गुरुङ्ग, डा. रिपु कुँवर, समाजशास्त्री विष्णु बसेललगायतले पनि आफ्ना धारणा राख्नुहुनेछ । आयोजक मुक्त फाउण्डेशनका दामोदर त्रिपाठीका अनुसारकार्यक्रममा २८ वटा कार्यपत्र प्रस्तुत गरनेछ । वैदिक ज्ञानको पवित्रीकरण र हिमालय क्षेत्रमा साँस्कृतिक/सम्पदा अन्तराष्ट्रिय पर्यटनको सम्भावना दुई विषयमा प्यानल छलफल हुनेछन् । सम्मेलनको अन्तमा कार्यक्रमको उपलब्धिसहित भावी रणनीतिका सम्बन्धमा पोखरा महानगरका मेयर र विज्ञहरुका बीचमा विशेष छलफल हुने कार्यक्रम रहेको उनले जनाए ।