पोखरा । गण्डकी विश्वविद्यालयको आयोजनामा दोस्रो कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म पोखरा रङ्गशालामा दोस्रो कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा गण्डकी प्रदेशका माध्यमिक विद्यालयले सहभागिता जनाउन सक्ने प्रतियोगिता संयोजक डा. मधुसुदन सुवेदीले जानकारी दिए । सोमबारदेखि टिम दर्ता खुला गरिएको सुवेदीले बताए । दर्ता शुल्क २५ सय तोकिएको छ ।
उक्त प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने प्रतियोगिता संयोजक सुवेदीले बताए । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १५ हजारको व्यवस्था गरिएको छ । प्रतियोगिताले खेलकुद क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने क्रममा सञ्चालित स्नातक तहको खेलकुद व्यवस्थापन समग्र विकास र उत्थानमा समेत टेवा पुग्ने अपेक्षा गरिएको खेलकुद व्यवस्थापन सङ्कायको संयोजक सुवेदीले बताए ।
यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठन पाठन सुरु गरेको नेपालकै पहिलो र एक मात्र विश्वविद्यालय हो । विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिइरहेको संयोजक डा. सुवेदीले बताए ।
२०७९ मा भएको प्रथम कुलपति रनिङशिल्ड फुटबलको उपाधि कालिका माध्यमिक विद्यालयले जितेको थियो । २०७७ सालमा स्थापना भएको यस विश्वविद्यालयमा अहिले ५ सङ्कायमा विषयमा पठनपाठन हुँदै आएको छ । नेपालमै पहिलो पटक खेलकुद व्यवस्थापन सङ्कायको पढाई थालेको यस विश्वविद्यालयमा नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही जस्ता खेलाडीसमेत अध्ययनरत छन् ।