पोखरा । पोखरा वडा नं. १५ स्थित ऐतिहासिक स्थल ढुंगेसाँघुको पट्नेरीमा अवस्थित अन्नपूर्णेश्वर शिवालय मन्दिर परिसरमा ऐतिहासिक शुक्लागण्डकी कोटिहोम २०८१ सुरु भएको छ । सोमबारदेखि सुरु भएको कोटिहोमको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले असल कर्म गर्नु नै धर्म रहेकोमा जोड दिए । जुनसुकै धर्मको सार नै असल कर्म भएकाले मानव हुनुका नाताले सर्वधर्म समभावको भावनाले अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
‘स्वच्छ एवं नैतिक समाजको निर्माण गर्न अनुशासन आवश्यक छ । अनुशासन धर्मले सिकाउँछ । धर्म, अध्यात्म र साधना भनेको हाम्रो समाजका ऐना हुन् ।’ उनले भने – ‘जसले असल समाज निर्माण गर्ने बाटोमा अगाडि बढाउँदछन् । असल संस्कार र संस्कृति मुलुक समृद्धिका आधार हुन् ।’
प्रदेश प्रमुख भट्टले धार्मिक पर्यटनको विकासका लागि शुद्ध मनहरूबाट यस्ता सत्कर्मका प्रयासहरू आवश्यक रहनेमा जोड दिँदै विश्वका कयौँ देशहरुले धार्मिक पर्यटनबाटै विकासमा फड्को मारेको अवस्था रहेको बताए ।
श्री अन्नपूर्णेश्वर शिवालय धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजना, पोखरा महानगरपालिका वडा नं. १५ कार्यालयको समन्वयमा आयोजित कोटीहोममा प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) जी, ब्रह्मनिष्ठ १००८ सन्त शिरोमणि पञ्चधामका संरक्षक श्री लोकानत्द महाराजजी लगायतले कथा वाचन गर्नेछन् ।
यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि यस पवित्र भूमिमा विभिन्न उद्धेश्यका साथ कोटीहोम भक्तिज्ञान महायज्ञ आयोजना गरिएको आयोजकको भनाई छ ।
पर्यटन प्रवर्द्धनको लक्ष्यसँगै मन्दिर उद्घाटन, प्राण प्रतिष्ठा, लघु रूद्रीसहितको विराट धनधान्यान्चल कोटी होम, कोटी दीप प्रज्वलन, पितृ उद्धार, भक्तिज्ञान महायज्ञ गर्न लागेको बताएको छ । निःशुल्क ब्रतबन्ध, निःशुल्क चौरासी पूजाको व्यवस्थापन, ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण, सेती नदीमा स्नान गर्न जाने १०८ सिँढी निर्माण, १०८ गौमुखी धारा निर्माण, १०८ शिवलिंग स्थापना गरिने उद्देश्य राखिएको छ ।
यसैगरी, सेती नदीमा अकालमा ज्यान गुमाएकाहरुको मुक्तिको कामना गर्दै विशेष पूजा, विपन्न बालबालिकाहरुलाई शिशुस्याहारदेखि कक्षा ३ सम्म निःशुल्क पठनपाठनको व्यवस्थापन, प्रेम मन्दिर शिलान्यास, प्राकृतिक पुलमुनी रहेको गुप्त तीर्थमा रहेको मन्दिर दर्शनका लागि बाटो निर्माण, पट्नेरीमा रहेका २८० घरधुरीलाई शुद्ध खानेपानीको निःशुल्क व्यवस्था, शवदहन गर्नको लागि दाउरा राख्ने घर, शौचालय र सार्वजनिक धारा निर्माण लगायतका पवित्र उद्देश्यका साथ यस धार्मिक समारोह आयोजना गरिएको आयोजकको भनाई छ ।
उद्घाटन अगाडि पोखरा महानगरपालिका वडानम्बर १५ कार्यालय अगाडिबाट कलश यात्रा सुरु भएको थियो । कलश यात्रा राधेराधे मन्दिर,रामबजार, घलेचोक, टुटुङगा, नयाँगाउँ, बनक्याम्पस, ढुङ्गेसाँघु चोक, हुदैँ पट्नेरी धाममा पुगेको थियो ।
यज्ञको उद्याटनमा ब्रह्मनिष्ठ १००८ सन्त शिरोमणि मुक्तीनाथ धाम बुटवलका संरक्षक लोकानत्द स्वामी, कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान, स्याङ्जाका संस्थापक अध्यक्ष चैतन्त्र कृष्णले संक्षिप्त धार्मिक प्रवचन दिएका थिए ।
यज्ञ संचालन नारी परिचालन उपसमिति संयोजक पार्वता पाण्डेले कोटिहोम संचालनको उदेश्यवारे जानकारी दिदै ढुङगेसाँघुको यो ठाउलाई धार्मिक स्थलको रुपमा विकास गर्ने योजना सुनाएकी थिइन् । प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले धार्मिक पर्यटकीय केन्द्र बनाउन सबै पोखरेलीको साथ र सहयोगको लागि आग्रह गरेका छन् ।
यज्ञको दोस्रो दिन प्रमुख बाचक ढकालसहित द्धिग्दर्शक बाचक शिरोमणी दिपक सापकोटा, भागवतमन्जरी पुज्य राधाकिशोरी दासीले कथा बाचन गर्ने कार्यक्रम रहेको धामका कोषाध्यक्ष नारायण भण्डारीले जानकारी दिए ।