पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ८ ले खेल क्षेत्रमा समेत आफ्नो सक्रियता बढाउन थालेको छ । जसका लागि युवा तथा विद्यार्थी लक्षित खेलकुद प्रतियोगिताको आयोजना गर्ने गरेको छ । वडाले यसअगाडि युवाहरूको लागि फुटसल प्रतियोगिता र वडाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आइरहेकोमा विद्यार्थीको लागि लक्षित गरेर सेपाक ताक्रो खेल आयोजना गर्यो ।
पोखरा ८ का विद्यालयलाई लक्षित गरेर शुक्रबार प्रथम सेपाक ताक्रो खेलकुद प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता जनप्रिय माविमा सञ्चालन गरिएको थियो । प्रतियोगिताको पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले उद्घाटन गरे ।
गण्डकी प्रदेश सेपाक ताक्रो सङ्घ पोखरासँगको समन्वयमा प्रतियोगिता आयोजना भएको हो । प्रतियोगितामा १२ वटा विद्यालयले भाग लिएको वडाध्यक्ष बरालले जनाए । विद्यार्थीलाई सेपाक ताक्रो सम्बन्धी जानकारी दिदैँ भविष्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा खेलाडी उत्पादन गर्न सघाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष बरालको भनाइ छ ।
शुक्रबार आयोजित प्रतियोगितामा छात्र तर्फ जनप्रिय “ए” प्रथम, जनप्रिय “बी” द्वितीय र सरस्वती तृतीय भए । छात्रा तर्फ जनप्रिय प्रथम, सरस्वती द्वितीय र अमरज्योति तृतीय भए । प्रतियोगितामा छात्र तर्फ ९ र छात्रा तर्फ ७ टिमले सहभागिता जनाएका थिए ।