पोखरा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत पोखरा महानगरपालिका वडा नम्बर ५ ले सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।
“लैङ्गिक हिंसा विरुद्ध पुरुषहरूको ऐक्यवद्धता महिला-पुरुष सम-सचेतना” कार्यक्रम समृद्ध पोखरा बनाउने कार्यक्रम अन्तरगत गरिएको वडाध्यक्ष विष्णु प्रसाद बरालले बताए । कार्यक्रममा टोल विकास संस्था, आमा समुह, युवा क्लब, रेडक्रस सोसाइटी र विभिन्न सरोकारवाला गरेर ५० जना भन्दा बढीको प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।
हिंसाका घटालाई न्यूनिकरण गर्दै हिंसा रहित समाज निर्माण गर्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम गरिएको वडाध्यक्ष बरालले बताए । वडामा दिनहुँजसो हिंसासँग सम्बन्धित घटनाबारे छलफल तथा निर्णय गर्नुपर्ने अवस्था रहेको समेत उनले खुलाए ।
अधिवक्ता भुवन पराजुलीले हिंसा सम्बन्धी कानुन र कानुनी प्रक्रियाको बारेमा सचेतना प्रदान गरेकी थिइन् । कार्यक्रममा वडाध्यक्ष बराल सहित वडा सदस्य गोविन्द प्रसाद पराजुली, कार्यपालिका सदस्य हरिमाया विकले बोलेका थिए भने कार्यक्रम सञ्चालन वडा सदस्य कल्पना भुवाजु क्षेत्रीले गरेकी थिइन् ।