पोखरा । नवौँ संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव यहीं मंसिर गतेदेखि हुने भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा आयोजना गरिने महोत्सव मङ्सिर २७ गतेसम्म चल्नेछ । नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखराले संयुक्त रुपमा महोत्सवको आयोजना गर्न लागेका हुन् । महोत्सवको तयारीमा तीव्रता दिइएको आयोजकको भनाइ छ ।
आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार पाँच दिन सम्म चल्ने महोत्सवको पहिलो दिन डिसेम्बर ८ मा पर्वतीय जीवन, अनुकूलन र भविष्यबारे अन्तरक्रिया कार्यक्रम हुनेछ । दोस्रो दिन पर्वतीय पर्यटनका सम्भावना र अवसरबारे विज्ञहरूले आफ्नो अभिमत राख्नेछन् ।
तेस्रो दिन डिसेम्बर ११ मा पहाडी क्षेत्रमा शौचालयको महत्वबारे सरोकारवालाको सहभागितामा अन्तरक्रिया हुनेछ । महोत्सवको चौथो दिन अनुभवी पर्वतारोहीसँग पर्वतारोहणका रोमाञ्चक क्षण, तयारी, दुःख र भावी सम्भावनाबारे छलफल हुनेछ । अन्तिम दिन अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनका असरबारे विमर्श गरिनेछ । महोत्सवमा स्थानान्तरण भैरहने चराहरू सम्बन्धी जनचेतनामूलक नाटक प्रदर्शन समेत हुनेछ ।
सङ्ग्रहालयको सभाहलमा दैनिक विभिन्न विषयमा अन्तरक्रिया हुने छन् भने सङ्ग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि सञ्चालन गरिनेछ । महोत्सवमा सहभागी हुन अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय प्रवेशका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको नेपाल पर्वतारोहण सङ्घका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारले बताए । “सङ्ग्रहालय अवलोकन गर्न आउने र आउने योजना बनाउनुभएका महानुभावले पनि यही अवधिमा अवलोकन गर्दा पर्वतीय सभ्यता, कला, संस्कृति, समस्या र समाधानबारे जानकारी पाउने अवसर मिल्छ,” उनले भने ।
पर्वतारोहण सङ्घका सल्लाहकार डा गणेश गुरुङले महोत्सवका लागि आवश्यक खर्चको प्रबन्ध आयोजक आफैं र केही संस्थासँग सहकार्यबाट हुने बताए । “पर्वतीय महोत्सव अरु आम महोत्सवभन्दा पृथक र विशिष्ट छ । पर्वतारोहण, नेपालको हिमाल, हिमाली संस्कृति, सङ्ग्रहालय जस्ता विषयमा रुचि राख्नेहरू प्राथमिकतामा भए पनि हामी सबै प्रकारका दर्शकलाई स्वागत गर्न उत्सुक र इच्छुक छौं,” उनले भने ।
यसपालिको महोत्सव ५० हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सव आयोजना गर्न ३२ लाख खर्च हुने जानकारी गराइएकाे छ । महोत्सवले पर्वतीय क्षेत्रका बासिन्दाको आर्थिक स्तर अभिवृद्धि गर्दै पर्वतीय वातावरण, जैविक विविधता, प्राकृतिक स्रोत लगायतको महत्व उजागर गर्ने अपेक्षा गरिएको सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले बताइन् । विगतका कार्यक्रम बाहिरका माहोललाई केन्द्रित गरेर गर्ने गरिएपनि यसपालि सैद्धान्तिक विषयलाई केन्द्रित गर्न खोजिएको उनले खुलाइन् । यो पटक युवाहरूलाई उत्प्रेरणा दिनका लागि सोही खालका कार्यक्रममा बढी जोड दिइएको उनको भनाइ छ ।
महोत्सवमा २० वटा स्टल रहनेछन् । इसिमोड, डब्लुडब्लुएफ, एफएओ, नेपाल टेलिकम, एक्याप, बर्ड कन्जरभेसन नेपाल लगायतका सङ्घ संस्थासँग सहकार्यमा महोत्सव हुन लागेको हो पर्वतीय जीवन, सभ्यता र इतिहासबारे बुझ्न अनौपचारिक अनुसन्धान केन्द्रको रुपमा रहेको सङ्ग्रहालय दैनिक रुपमा आन्तरिक तथा बाह्रय पर्यटकको भिड लाग्ने गर्दछ ।