पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा तीन लाख युवालाई रोजगारी दिने काम सुरु गर्न लागेको बताएका छन् । मङ्गलबार पोखरामा नेकपा एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एआईको अध्ययन तथा विभिन्न रिसर्च सेन्टर खोल्ने लगायतका केही काम यो वर्ष सुरु गर्न लागिएको बताए ।
एउटै सेन्टर भित्र ५० हजार युवालाई जागिर दिन चाहेको उनको भनाइ छ । सरकारले टिकटक खोलेपछि धेरैलाई स्वरोजगारमा सहज भएको उनले बताए । सूचना प्रविधिको क्षेत्रबाट नेपालमा नै बसेर क्षमता र नेटवर्कको आधारमा धेरै राम्रो आम्दानी गर्न सकिने उनले सुनाए । पछिल्लो समयमा टिकटकबाट ठूलो मात्रामा अप्रत्यक्ष आम्दानी हुने गरेको उनको दावी थियो ।
एमाले उपमहासचिव समेत रहेका गुरुङले युवालाई रोजगार, स्वरोजगार र उत्पादनसँग जोडेमा विदेश जानबाट रोक्न सकिने बताए । ‘आईटी, अनलाइनको माध्यमबाट रोजगारी सिर्जना गर्न सकिन्छ’ उनले भने, ‘यसबाट राजस्व पनि ठुलै भोलुममा उठाउन सकिन्छ ।’
टिकटकबाट ३ खर्ब भन्दा बढी अप्रत्यक्ष रुपमा आम्दानी भइरहेको बेला बन्द गर्दा धेरै युवाको स्वरोजगार गुमेकाले आफूले त्यसलाई खोलेको गुरुङले बताए । आईटी सेक्टरबाट मात्रै वर्षेनी १ खर्ब राजस्व उठाउन सकिने उनले जनाए । पोखरामा आईटी पार्क खोल्ने तयारी भइरहेको समेत मन्त्री गुरुङले बताए ।
कार्यक्रममा लमजुङ र कास्कीका ३ सय ६७ युवा एमाले प्रवेश गरेका थिए । उनीहरूलाई खादा र अविरले स्वागत गर्दै गुरुङले युवाको प्रवेशले एमाले झनै बलियो हुने बताए । युवा अनुशासित र मेहनती हुनुपर्ने भन्दै उनले कुनै एउटा असफलताबाट नआत्तिई आफूले गर्ने काममा निरन्तर लागिरहे सफल भएर छाड्ने सुझाव दिए ।
जोसुकै व्यक्ति पनि विधिको शासनमा हिड्नुपर्ने गुरुङले बताएका उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति इंगित गर्दै छानविन भइरहेको विषयमा युवालाई सडकमा उतारेर भड्काउने काम भइरहेको बताए । सडकमा समुह देखाएर केही नहुने उनको भनाई थियो । छानबिन समितिले दोष लगाएको मानिसहरुलाई गल्ति गरेको छ भने कारवाही गर्ने गल्ति गरेको छैन भने त्यसलाई छोडिदिनकाे लागि अनुसन्धानको दायरा भित्र ल्याउँदा विरोध गर्नु जायज नभएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलिको नेतृत्वको अघिल्लो सरकार ढलेपछिका साढे ३ वर्षको अवधिमा जनतामा निरासा छाएको उनले बताए । अहिले मुलुक धेरै संकटमा रहेको बताएका उनले यसलाई पार लगाउने सामर्थ्य एमालेसँग मात्र भएको दावी गरे । सही पात्र रोज्न नसकेको कारण सुशासनका ठाउँमा कुशासन आइरहेको गुनासो उनले गरे । युवाले अब सही पात्र रोज्नुपर्ने र सही ठाउँमा बस्नुपर्ने भन्दै त्यसको लागि एमाले उपयुक्त्त भएकाे बताए ।
देशको साढे १८ खर्बको बजेटमा ३ खर्ब विकासको बजेट छुट्याउँदा त्यहीँ ३ खर्ब पनि खर्च गर्न नसक्ने अवस्था हुने दु:खद भएको उनले बताए । ‘अब ३ खर्बको ठाउँमा हाम्रो सरकारले कम्तिमा ७ खर्ब पूर्वाधार निर्माणमा छुट्याउनुपर्छ बजेट र त्यो खर्च गर्ने ल्यागत क्षमता सरकारले बनाउनुपर्छ’ उनले भने । सबै मिलेर सबैठाउँमा पुँजिगत खर्च गर्ने अवस्था गर्ने हो भने रोजगारीका अवसरहरू सिर्जना हुने तर्क उनको छ ।