पोखरा । पोखरा ५ मा रहेको बाराही माध्यमिक विद्यालयले आयोजना गरेको क्लस्टर स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि कालिका मावि रामबजारले जितेको छ ।
कालिकाले विन्ध्यवासिनी मावि पोखरा १६ लाई ट्राइबेकरमा हराउँदै उपाधि जितेको हो । निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा कालिकाले विन्ध्यवासिनीलाई ३–२ गोलले हरायो ।
पोखरा ५, मालेपाटनमा रहेको बाराही माविले विद्यालयको ६७ औं वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा प्रतियोगिताको आयोजना गरेको थियो । कालिकाले उपाधि सहित नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । त्यसै गरी बिन्ध्यवासिनीले नगद २० हजार ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी कालिका माविका कुशल नेपाली, हाइस्कोरर विन्ध्यवासिनी माविका सरोज थापा, उत्कृष्ट गोलकिपर कुशल नेपाली कालिका मावि, उत्कृष्ट डिफेन्समा विन्ध्यवासिनीका विपिन गुरुङ, उत्कृष्ट स्ट्राइकर कालिकाका विवश गुरुङ र उत्कृष्ट कोचको उपाधि कालिकाका आशिष श्रेष्ठले जित्न सफल भए ।
त्यसै गरी छात्रा तर्फको मैत्रिपूर्ण खेलमा कन्या माविले बाराही माविलाई १–० गोलले हरायो । क्लस्टर स्तरीय प्रतियोगिता पहिलो पटक आयोजना भएको हो । प्रतियोगितामा कास्की जिल्लाका १५ वटा विद्यालयका १६ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताले विद्यार्थीहरूको खेलकुदमा रुचि र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न गरेको विद्यालय प्रधानध्यापक शिव भण्डारीले जानकारी दिए ।
विजेता खेलाडीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल खत्री, समाजसेवी पुरुषोत्तम प्रसाद पराजुली, हेमराज अधिकारी, लक्ष्मण बराल, प्रधानध्यापक शिव भण्डारी, बाराही विद्यालयका खेलकुद संयोजक सुशील केसी लगायतले पुरस्कार वितरण गरे ।