पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी प्रदेश गौरवको आयोजना कोरोला–पोखरा–त्रिवेणी मार्गसहित जिल्लाका आयोजनाको निरीक्षणमा निस्किएका छन् । मन्त्री केसी नेतृत्वको टोलीले मङ्गलबार तनहुँको भीमाद, घिरिङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बौदीकाली गाउँपालिकामा प्रदेश सरकारले लगानी गरेका योजनाको निरीक्षण गरेको छ ।

मन्त्री केसी नेतृत्वको टोली मङ्गलबार कोरोला–पोखरा–त्रिवेणी मार्गअन्तर्गत भीमादबाट घिरिङ हुँदै नवलपुरको रुचाङसम्म पुग्यो । दुई छिमेकी देश चीन र भारत जोड्ने यो सडकको दुम्कीबासदेखि त्रिवेणीसम्मको करिब २३ किलोमिटर क्षेत्रमा निकुञ्ज पर्छ । त्यो ठाउँको समस्या बुझ्न मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी स्थलगत निरीक्षणमा निस्किएका हुन् । यो टोली बुधबार दुम्कीबासबाट विवादित क्षेत्र हुँदै त्रिवेणीसम्म निरीक्षणमा जाने छ ।

मन्त्री केसीले मङ्गलबार तनहुँको भीमाद नगरपालिका प्रमुख दधिराज सुवेदी, घिरिङ गाउँपालिका प्रमुख होमबहादुर थापा, नवलपुरको बौदिकाली गाउँपालिकाका प्रमुख प्रकाश ओझासहित स्थानीयलाई भेटे । भेटमा पालिका प्रमुखहरूले प्रदेश सरकारबाट बजेट विनियोजन भएर पनि काम हुन नसकेका र प्रदेश सरकारले गर्नुपर्ने कामबारे जानकारी गराए ।

भीमाद र घिरिङका पालिका प्रमुखले दुई पालिका जोड्ने सडक ७ वर्ष पहिल्यै सकिनुपर्ने भएपनि ठेकेदार मुद्दा मामिलामा लागेपछि जनताले सास्ती ब्यहोर्नुपरेको सुनाए । घिरिङका गाउँपालिका अध्यक्ष होमबहादुर थापाले कृष्णमार्ग मोटर मार्गको  समस्या मुख्य भएकाले समाधान गर्नेमा विशेष ध्यान दिन आग्रह गरे ।

मन्त्री केसीले पोखरा फर्किएपछि मन्त्रालयको टिम यो सडकको समस्या बुझेर समाधानमा लाग्ने बताए । उनले पूर्वाधार कार्यालय तनहुँका प्रमुखसँग कृष्णमार्ग मोटरबाटोको समस्याबारे सोधेर आफ्नो ठाउँबाट गर्न सकिने सबै पहल गर्ने प्रतिबद्धता जनाए ।

बौदिकाली गाउँपालिका प्रमुख प्रकाश ओझाले डेढगाउँ रिङरोड योजनामा प्राथमिकता साथ बजेट विनियोजन गरिदिन आग्रह गरे । उनले बसाइँसराइँले गाउँ नै रित्तिने अवस्था आएको, कर्मचारी बस्न नमान्ने समस्या भोग्नुपरेको सुनाए ।

जवाफमा मन्त्री केसीले चालु आर्थिक वर्षमा नयाँ बजेट हाल्न सक्ने अवस्था नरहेकाले आगामी वर्ष आवश्यकताका आधारमा माग सम्बोधन गर्ने बताए । उनले पालिकाको विकासमा मन्त्रालयले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0