पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ ढुङ्गेसाँघु, पट्नेरीमा हुने गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाममा यही मंसिर १७ देखी २७ गतेसम्म कोटिहोम गर्न लागिएको हो ।

पट्नेरी शुक्लागण्डकी (सेती नदी) को तटमा आयोजना गरिएको कोटिहोम स्थलमा आवश्यक भौतिक संरचना निर्माण गरि तयारी अवस्थामा राखिएको छ । मन्दिरमा रङ्गरोगन र ध्वजापताकाले सजाइएको धामका अध्यक्ष मदन गिरीले जानकारी दिए ।

कोटीहोमका प्रमुख बाचक, धामका संरक्षक, यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल शनिबार पोखरा आइसकेका छन् । अमेरिकामा बस्दै आएका प्रमुख बाचक ढकाल शनिबार पोखरा आइपुगेका हुन् । ढकालको स्वागतमा अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा भव्य स्वागत गरिएको छ । विमानस्थलबाट पोखरा १५ कोलपाटनमा रहेको राधेराधे मन्दिरमा विशेष पुजा अर्चनामा सहभागि भए लगत्तै बाचक ढकाललाई बाजागाजासहित कोटिहोम स्थल धाममा पुर्‍याइएको समितिका सचिव कमला बरालले जानकारी दिइन् ।

 यज्ञ स्थलको निरीक्षण पछि ढकालले समितिका पदाधिकारी स्थानीयलाई विशेष निर्देशन दिदैँ हरिहर क्षेत्रलाई धार्मिक स्थलको रुपमा विकास गर्न सङ्कल्पित भएर लाग्न भने । बहुसांस्कृतिक ऐतिहासिक तथा धार्मिक महत्व बोकेको हरिहर क्षेत्र, पुण्यभूमिलाई सांस्कृतिक पहिचान, धार्मिक एवं पुरातात्विक सम्पदाको जगेर्ना र संरक्षण गदैँ पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने ढकालले बताए ।

बाचक ढकालको स्वागतमा कोटिहोम स्थलमा आयोजित सङ्क्षिप्त कार्यक्रममा बोल्दै पोखरा महानगर वडा नम्बर १५ का वडा सदस्य बलराम पौडेलले कोटिहोमलाई सफल बनाउन वडाले सहयोग गर्ने प्रतिवद्धता जनाए । प्रकृतिले दिएको सम्पदालाई संरक्षण गरेर यस क्षेत्रको विकासमा समेत प्रयोग गर्न सकिने पौडेलले बताए ।

 धाममा १०८ शिवलिङ्ग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठनागरिक मिलन केन्द्र उद्देश्यका साथ कोटीहोमको आयोजना गरिएको समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए । कोटिहोममा कथा वाचनका लागि १५ भन्दा बढि धर्म गुरु आउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0