पोखरा । पोखरा महानगरपालिका ८ नं. वडा बाल मञ्चले आयोजना गरेको वादविवाद प्रतियोगितामा जनप्रिय माविमा अध्ययनरत कञ्चन बिक प्रथम भएकी छन् । पोखरा महानगरपालिका वडा नं.८ को सहयोगमा आयोजनामा गरिएको प्रतियोगितामा सृजना माविमा अध्ययनरत सपना शर्मा द्वितीय र लक्ष्मी आवावसिय माविमा अध्ययनरत सृष्टि आचार्य तृतीय बनिन् । राम आधारभूत विद्यालयमा अध्ययनरत मिसन मगरले प्रोत्साहन पुरस्कार प्राप्त गरे । प्रतियोगितामा वडा नं। ८ मा रहेका ६ वटा विद्यालयमा ११ जना छात्रछात्राले भाग लिएका थिए ।

प्रतियोगिताको निर्णायकमा सहारा आधारभुत विद्यालयकी प्रधानध्यापक लोचना अधिकारी, अधिवक्ता तथा सामाजिक अभियान्ता सुष्मा कुमारी पौडेल र पोखरा महानगरपालिका सामाजिक शाखाकी बेल कुमारी गुरुङ रहेका थिए । विजेतालाई समापनका कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ८ कि वडा सदस्य पवित्रा केसी, बाल मञ्च अध्यक्ष सुसन न्यौपाने लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बोल्दै पोखरा ८ कि वडाध्यक्ष पवित्रा केसीले बालबालिकाको प्रतिभा प्रष्फुटन गर्ने कार्यमा वडाले निरन्तर साथ दिने बताइन् । वडा स्तरीय बालमञ्चको नेतृत्वले दुई वर्षको अवधिमा गर्ने कार्यले बालबालिकाको क्षमता विकासमा सघाउ पुर्‍याएको उनले बताइन् ।

बाल मञ्चका अध्यक्ष सुसन न्यौपानेले दुई हप्ताको तयारीमा कार्यक्रम सम्पन्न गरिएको बताए । कार्यक्रम सम्पन्न गर्नका लागि वडाले बजेट दिएको थियो । यसअगाडि वक्तित्वकला प्रतियोगिता आयोजन गरिएको जनाएका उनले अब तीन दिने तालिम आयोजना गर्ने योजना बनेको बताए । हाल मञ्चमा १५ जना रहेका छन् ।

कार्यक्रममा निर्णायक सुष्मा पौडेल, राम आधारभुत विद्यालयका प्रधानध्यापक तीर्थराज न्यौपाने, मञ्चका सचिव समीप सापकोटा, उपाध्यक्ष कृष्मा गिरी लगायतले बोलेका थिए । वडा नं. ८ मा एउटा सामुदायिक विद्यालय र ११ वटा संस्थागत विद्यालय रहेका छन् । यस अगाडि प्रतियोगिताको उद्‌घाटन पोखरा महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष रुद्रनाथ बरालले गरेका थिए ।

बालबालिकाको क्षेत्र विकासमा सदैव लागि परौँ, वडा नं. ८ लाई बाल मैत्री घोषणा गर्न प्रतिबद्ध बनौ’ भन्ने मुल नाराका साथ भएको प्रतियोगितामा न्यु मोडल माविका सृष्टि बराल, जनप्रिय माविकी कन्चन बिक, सृजना माविका सपना शर्मा र अपेक्षा अधिकारी, राम आधारभुत विद्यालयका सन्ध्या चौधरी, मिसन मगर र पलसरी बुढा, लक्ष्मी आवासीय माविका सृष्टि आचार्य र प्रकृति ठकुरी, पोखरा एकेडेमीका आयुषा रानाभाट र शिखा पुनले भाग लिएका थिए । वादविवाद प्रतियोगिताको विषय ‘सामाजिक मिडिया समाजका लागि हानिकारक नभई लाभदायक’ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0