पोखरा । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायीलाई उत्साहित भएर लगानी गर्न आग्रह गरेका छन् । उनले देशको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउनका लागि सरकारले प्रयास गरिरहेको बताए । ढुक्क भएर व्यवसायीले लगानी गर्ने हो भने आर्थिक क्षेत्र चलायमान बन्ने ढङ्गले अगाडि बढ्ने विश्वास उनले गरे ।
पोखरा चेम्बर अफ कमर्स कास्कीले शनिबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भैरहवा र पोखराको एयरपोर्ट सञ्चालनको लागि सरकारले निरन्तर काम गरिरहेको बताए । केही सुविधा दिएको कारण भैरहवा एयरपोर्ट चलिसकेको र अब प्रधानमन्त्रीको चीन भ्रमणको बेलामा चीनबाट सिधै पोखरा उडान कति गर्न सकिन्छ पहल गर्ने बताए । नेपालकै प्राथमिकता र निगरानीमा बनेको एयरपोर्ट भएको र यसलाई चलायमान बनाउनका लागि काम भैरहेको बताए ।
एयरपोर्ट बन्यो भोलिपल्टै चलेन भनेर साह्रै चिन्ता व्यक्त गर्न नहुने डा.खतिवडाको भनाइ थियो । यो सम्भावना भएको ठाउँ भएकोले कुनै दिन गुलजार हुने उनको दावी थियो । उनले वित्तिय क्षेत्रमा अराजकता बढाउने गतिविधि हुन थालेकोमा चिन्ता व्यक्त गरे । उनले सबै परिसूचक सोझिन थालेकाले यो लगानी गर्ने समयको भएको बताए ।
पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बाँस्तोलाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सल्लाहकार आनन्द बराल, वरिष्ठ उपाध्यक्ष प्रेम सुवेदी, उपाध्यक्ष उद्योग नवराज अर्याल, उपाध्यक्ष वाणिज्य श्याम कुमार मल्ल, सदस्य जुना अधिकारी, कृष्णराज पोख्रेल, श्रीराम गौतम, तुलसी दाहाल लगायतले जिज्ञासा राखेका थिए । उनीहरूका जिज्ञासालाई समेत डा।खतिवडाले मेटाए । कार्यक्रमको सञ्चालन महासचिव गोकर्ण अधिकारीले गरेका थिए ।