पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १७ औं संस्करणको हिसान स्पोर्टस मिटको तयारी पुरा भएको छ ।

शिक्षाको विकास सँगै विद्यार्थीहरूलाई अतिरिक्त कृयाकलापमा अघि बढाउने अनुरूप आयोजना गरिएको स्पोर्ट्स मिटको सम्पूर्ण तयारी पुरा भएको हिसान कास्कीले जनाएको हो । १७ औं संस्करणको हिसान स्पोर्ट्स मिट यही मंसिर ११ गते देखि १४ गते सम्म पोखरा रङ्गशालामा सञ्चालन हुनेछ । स्पोर्ट्स मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरू विभिन्न चार खेलका छुट्टाछुट्टै इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् ।

हिसान कास्की स्पोर्ट्स मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने भएको हिसान कास्कीका सचिव किरण सापकोटाले जानकारी दिए । प्रतियोगितामा मावि तह छात्र भलिबलमा ३३ र छात्रातर्फ २१ विद्यालयको सहभागिता हुने छ ।

त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ३९ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ ११ टिम भिड्नेछन् । टेबुल टेनिसतर्फ छात्र–छात्रा सिङ्गल्स, डबल्सतर्फ १ सय ११ खेल हुनेछन् भने विद्यालयका ब्याडमिन्टन छात्र–छात्रातर्फ सिङ्गल्स र डबल्समा गरी कुल १ सय २४ खेल हुने आयोजकले जनाएको छ ।

विश्वविद्यालयतर्फ बास्केटबलमा छात्रतर्फ ८ र छात्रातर्फ समेत ८ टिमले सहभागिता जनाएका छन् । हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताले यूवा खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने प्रतियोगिताका संयोजक याम रोक्काले बताएका छन् । उनले भने–“यो प्रतियोगिताका लागि मात्रै आयोजना होइन । विद्यार्थीहरूलाई खेलकुद मार्फत उनीहरूको क्षमता अभिवृद्धि गर्नु हो भने दोश्रो तर्फ युवा खेलाडी उत्पादन गर्नु हाम्रो प्रमुख उद्देश्य हो ।”

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टु तर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १५ मध्ये ६१ शिक्षण संस्थाले स्पोर्ट्स मिटमा सहभागिता जनाउने छन् । प्रतियोगितामा ४ हजार भन्दा वढी विद्यार्थीहरूको सहभागिता हुने तथा २५ हजार भन्दा बढि विद्यार्थी अभिभावकले अवलोकन गर्ने हिसान कास्कीका उपाध्यक्ष पुरन कुँवरले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करिव २५ लाख खर्च हुने तथा प्रतियोगितामा विजेता विद्यालयहरूलाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई आइएनजी ग्रुपले मुख्य प्रायोजन गर्ने भएको छ ।

यसै विच हिसान कास्कीले विगतका हिसान स्पोर्टस मिटमा सहभागिता जनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल खेलाडीहरुलाई सम्मान गर्ने भएको संस्थाका सल्लाहकार एवं केन्द्रिय उपाध्यक्ष बाबुराम पन्तले जानकारी दिएका छन् । हिसान कास्कीले पोखरा रंगशालामा आयोजना हुने १७ औं सस्करणको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गर्ने भएको छ ।

प्रतियोगिताको उद्घाटन गण्डी प्रदेश प्रमुख डिल्लीराज भट्टले गर्ने कार्यक्रम तय भएको हिसान कास्कीले जनाएको छ । १५ औं र १६ औं संस्करणको हिसान स्पोर्ट्स मिटको उपाधि प्रतिभा माविले जितेको थियो । हाल सम्म ग्लोबल कलेजियट मावि र न्यू ग्यालेक्सीले लगातार ३–३ पटक जितेर इनिङ्ग शिल्डमा कब्जा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0