पोखरा । कम्प्युटर एशोसियसन नेपाल महासङ्घ (क्यान), कास्कीको अध्यक्षमा पुरुषोत्तम कुँवर सर्वसम्मत निर्वाचित भएका छन् । क्यान कास्कीको १० औं अधिवेशनले कुँवरको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

दुई वर्षे कार्यकाल रहने समितिको प्रथम उपाध्यक्षमा सेवक क्षितिज, द्वितीय उपाध्यक्षमा महेन्द्र भुर्तेल, सचिवमा दामोदर डुम्रे सहसचिवमा सुरेश सापकोटा, कोषाध्यक्षमा रुद्रनाथ न्यौपाने रहेका छन् । यस्तै, सदस्यहरूमा दीपकराज गिरी, घनश्याम गौतम, बालकृष्ण न्यौपाने, हरिकृष्ण शर्मा, भरत बराल र मुकुन्द योगी छन् ।

नवनिर्वाचित अध्यक्ष कुँवरले विधानअनुसार दुई जना सदस्यहरू गोविन्दप्रसाद रिजाल र चन्द्रकला बस्नेतलाई मनोनित गरे । निवर्तमान अध्यक्ष दुधमान गुरुङ (आशिष) स्वतः कार्यसमितिमा रहन्छन् । युवराज पौडेलको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन मण्डलले कुँवरको अध्यक्षतामा सर्वसम्मत रुपमा कमिटी गठन गरेको हो । सदस्यहरूमा एकनारायण चापागाईं र प्रकाशमान सिंह भण्डारी रहेका थिए । नवनिर्वाचित अध्यक्ष कुँवर यसअघि संस्थाका प्रथम उपाध्यक्ष थिए । क्यान कास्कीमा १२ वर्ष बढी निरन्तर क्रियाशील कुँवर पोखराको न्युरोड स्थित कस्मिक कम्प्युटिङ सोलुसन एवं कस्मिक एकेडेमीका सञ्चालक हुन् ।

 सूचना प्रविधिको क्षेत्रमा कुँवर दुई दशकदेखि संलग्न परिचित नाम हुन् । कास्की अन्नपूर्ण–१ निवासी कुँवर पोखरामै रहेर विश्वस्तरीय सूचना प्रविधिको प्रवर्द्धनमा सक्रिय छन् ।

साधारणसभाको बन्दसत्रमा सचिव महेन्द्र भुर्तेलको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रुद्रनाथ न्यौपानेको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो । अध्यक्ष दुधमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष पुरुषोत्तम कुँवर र सञ्चालन सचिव महेन्द्र भुर्तेलले गरेका थिए ।

२०६५ सालमा विधिवत् दर्ता भएको क्यान कास्कीको नेतृत्व जगनबहादुर गुरुङ, इबिन्द्रराज तिवारी, राजेन्द्रकुमार श्रेष्ठ, चण्डीप्रसाद अर्याल, गुणानिधी पाण्डे, चिन्तामणि बास्तोला, युवराज पौडेल, विश्वास भण्डारी र दुधमान गुरुङ (आशिष) ले सम्हालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0