पोखरा । नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर डा.चिरञ्जिवी नेपालले देशको मौद्रिक नीतिमा स्थायित्व हुनुपर्ने बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घले आइतबार पोखरामा आयोजना गरेको मुलुकको वर्तमान आर्थिक अवस्थाबारे अन्तरक्रियात्मक छलफल कार्यक्रममा बोल्दै  नीतिगत कुरा पछि बल्ल सरकार आउने उनको भनाइ थियो ।

नेपालमा नीति कुनबेला परिवर्तन हुन्छ, दिएको सुविधा कुनबेला फिर्ता लिइन्छ थाहा नहुने गरेको भन्दै यहीं कारण व्यवसायीले बैङ्कबाट ऋण लिएर आफ्नो पैसा पनि लगाउने र ऋणको भारी पनि बोक्ने दुइटै काम गर्न नसक्ने बताए । अहिले उद्योग व्यवसाय अगाडि बढ्न नसक्नुमा नीतिगत स्थायित्व हुन नसक्नु मुख्य कारण रहेको उनको दावी छ । नयाँ सरकार बनेको यतिका समय हुँदा पनि धितो पत्र बोर्डको अध्यक्ष चयन हुन नसक्नु यसको उदाहरण भएको उनले खुलाए ।

धेरै जसो देशमा देशको मौद्रिक नीति र सरकारको कुरा नमिल्ने गरेको उनले खुलाए । जहाँ मिल्यो त्यहाँ समस्या देखिने गरेको उनको दावी थियो । केन्द्रिय बैङ्क उदार भएर जाँदा समस्या हुने उनले बताए । सरकारको स्थायित्व नभएकोले उसले भनेको सबै कुरा मान्दा वित्तिय क्षेत्रमा समस्या देखिने बताए । उनले नीतिगत अस्थिरताकै कारण बैंकमा तरलता बढे पनि निजी क्षेत्रले ऋण लिने हिम्मत नजुटाएको पनि जिकिर गरे ।

उनले आर्थिक गतिविधि सुस्ताउनुमा राजनीतिक नेतृत्वभन्दा पनि नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीति दोषी रहेको जिकिर पनि गरे ।  अर्थतन्त्रको अवस्थाबारे ख्याल नराख्ने र ठूला–ठूला योजना अगाडि सार्ने राजनीतिक नेतृत्वलाई अर्थतन्त्रको अवस्थाबारे जानकारी गराउनु नियमनकारी निकाय राष्ट्र बैङ्कको कर्तव्य भएको पनि उनले बताए ।

आफू राष्ट्र बैङ्कको गभर्नर हुँदा बैङ्कहरू गाभ्ने तथा भूकम्पको समयमा अनुदान प्रवाह गर्दा राजनीतिक नेतृत्वको आग्रहभन्दा पनि अर्थतन्त्रको यथार्थता हेरेकोले आर्थिक अवस्था नडग्मगाएको पनि उनको जिकिर थियो । उनले वैदेशिक रोजगारीका लागि विदेशिनुलाई नराम्रो भन्न नमिल्ने र गैरआवासीय नेपाली नागरिकलाई दोहोरो नागरिकता दिँदै लगानीको लागि प्रोत्साहित गर्नुपर्नेमा पनि जोड दिए ।

 कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले बैङ्कमा तरलता थुप्रिँदा पनि निजी क्षेत्र ऋण लिन उत्साहित नहुनु, निर्माण व्यवसायीले समयमा कामको भुक्तानी नपाउनु तथा चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिँदासम्म पनि घोषणा अनुरुप भौतिक पूर्वाधारका कामको ठेक्का नलाग्नुलाई निजी क्षेत्रले निको नमानेको बताए ।

पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद ज्ञापन र संघकी महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै सङ्घका पूर्वअध्यक्ष वसन्त उदासले युवा पलायन दर बढ्दा बजार सुस्ताएको जिकिर गर्दै पढ्नकै लागि विदेश जाँदा पनि कम्तिमा मापदण्ड कायम गराउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष बुद्धाचार्य, वाणिज्यतर्फका उपाध्यक्ष बलराम आचार्य, उपमहासचिव सुदीप प्रधानाङ्ग, कार्यसमिति सदस्य देवेन्सन प्रजु र राम कँडेल, पत्रकार विजय नेपाल, व्यवसायीहरु मिलन तिवारी, अध्ययेता सरोज कोइराला, सहजकर्ता सुरेन्द्रबाबु तिवारी, फर्निसिङ तथा फर्निचर व्यवसायी संघ कास्की अध्यक्ष थोमनाथ अर्याल लगायतले व्यवसाय गर्नेले किन सहज तरिकाले ऋण पाउँदैनन्, किन नियमनकारी निकायहरु उद्योगी÷व्यवसायी मैत्री व्यवहार गर्दैनन्, किन साना तथा मझौला उद्योगीहरुलाई सहज हुने खालको नीति ल्याइँदैन, किन निश्चित वर्गको हितका खातिर नीति नियम बनाइन्छ भन्ने लगायतका जिज्ञासा राखेका थिए ।  उनीहरुका जिज्ञासालाई पूर्व गभर्नर डा. नेपालले मेटाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0