पोखरा । प्रतिनिधिसभाका पूर्व सभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका अन्त्येष्टि गरिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकमा ढुङ्गानाको राष्ट्रिय सम्मानका अन्त्येष्टि गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । ढुङ्गानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्ने निर्णय गरिएको उनले बताए । ढुङ्गानाको निधनमा आज सार्वजनिक बिदा दिने तथा स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय समेत भएको सरकारका प्रवक्ता गुरुङले खुलाए ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ । ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।