पोखरा । नाटक एक चिहान दमौलीमा मञ्चन हुने भएको छ । पोखरा थिएटरको प्रस्तुतीमा निर्माण भएको नाटक गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजनामा मंसिर १ गतेबाट तनहुँ उद्योग वाणिज्य सङ्घको सभाहलमा मञ्चन हुने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए ।

मंसिर ३ गतेसम्म मञ्चन हुने नाटक मञ्चन कार्यक्रमलाई सफल बनाउन लायन्स क्लब अफ सत्यवती र इनरह्यविल क्लब अफ दमौलीले सह-आयोजक बनेर सघाउनेछन् । नाटक हरेक दिन ३ सो मञ्चन हुनेछ ।

यस अगाडि गत असोजमा तनहुँको दुलेगौँडामा यो नाटक मञ्चन भएको थियो । त्यहाँबाट प्राप्त सकारात्मक प्रतिक्रियाका कारण नाटक दमौलीमा मञ्चन हुन लागेको हो । गण्डकी प्रदेशका सबै जिल्लामा पुगेर यो वर्ष नाटक मञ्चन गर्ने लक्ष्य थिएटरले बनाएको अध्यक्ष परिवर्तनले  बताए ।

एक चिहान पर्वत, लमजुङ, स्याङ्जा जिल्लामा समेत यो नाटक मञ्चन भैसकेको छ ।   साहित्यकार हृदय चन्द्र सिंह प्रधानले लेखेको उपन्यासलाई नाट्य रूपान्तरण तथा निर्देशन परिवर्तनले गरेका छन् ।

नाटकमा परिवर्तन, रमेशबाबु तिमल्सिना, रोशनी रामदाम, रविन्द्र मल्ल, प्रकाश रेग्मी हमाल, सुसन पौडेल, कविता घर्ती मगर, कविता आचार्य, सनम पुन, रञ्जु दाहाल, धनकाजी श्रेष्ठ, श्रीकृष्ण भण्डारीको अभिनय हेर्न पाइनेछ । नाटकमा तनहुँका केही कलाकार समेत रहने बताइएको छ । बक्स अफिसको जिम्मा मौसमी नेपाली र विदिशा न्यौपाने तथा बजार व्यवस्थापकको जिम्मेवारी प्रकाश पराजुलीले सम्हाल्नेछन् ।

नेपाली गरीब किसान र मजदुरको जीवनमा आधारित नाटक एक चिहान सामाजिक यथार्थवादी नाटक हो ।  यो नाटक पोखरा थिएटरमा पहिलोपटक २०७६ सालको साउनमा मञ्चन भएको थियो । हालसम्म २ सय ५० सो मञ्चन भैसकेको नाटक ५० हजार भन्दा बढी दर्शकले हेरिसकेको पोखरा थिएटरको दावी छ ।

यसका अलावा गण्डकी प्रदेशको नाट्य गतिविधि पुनर्जागरण गर्नका निमित्त कोसिस भैरहेको अध्यक्ष परिवर्तनले सुनाए । गण्डकी प्रदेशका सबै जिल्लामा स्थानीय स्तरमा रङ्गकर्मी जन्माउने र रङ्गमञ्च तर्फको आकर्षण बढाउने लक्ष्य आफूहरूको रहेको उनको भनाइ छ ।

पोखरा थिएटरले अन्तराष्ट्रिय नाटक महोत्सवको तयारी गरिरहेको जनाएको छ । विश्व रङ्गमञ्च दिवसको छेको पारेर महोत्सव गरिने परिवर्तनले बताए । यसैगरी थिएटर आगामी पुष महिनामा लोक नाटक समेत मञ्चन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0