पोखरा। नेपाल आईसीसी यू-१९ महिला टी–२० विश्वकप क्रिकेटमा पहिलोपटक छनोट भएको छ । यू-१९ महिला टी–२० विश्वकपको एशिया छनोटको निर्णायक खेलमा नेपालले यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकप क्रिकेटमा पहिलोपटक छनोट भएको हो ।
यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाएर पुरा गर्यो । नेपालकी साना प्रवीनले सर्वाधिक ३५ रन बनाइन् । यस्तै कप्तान पूजा महतोले २१, सोनी पाख्रिनले १३ र सावित्री धामीले १२ रन बनाइन् । यूएईका लागी मेहक ठाकुरले २ विकेट लिइन् ।
यसअघि घरेलु मैदान सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । यूएईकी समिरा धार्निधार्काले सर्वाधिक ३१ रन बनाइन् । नेपालकी कृष्मा गुरुङले ४, रिया शर्मा, कृष्मा गुरुङ र सिमाना केसीले दुई तथा रचना चौधरीले १ विकेट लिए । कृष्माले खेलको १८ औं ओभरमा ३ विकेट लिइन् ।
१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ । चार वटा देश सहभागी प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहेर पहिलो पटक १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको हो ।
नेपालले ६ खेलमा १० अङ्क जोड्यो । यूएईको पनि ६ खेलमा १० अङ्क भए पनि नेट रन रेटका आधारमा दोस्रो भयो । यस्तै थाइल्यान्ड ६ खेलमा ४ अङ्कसहित तेस्रो र कुवेत ६ वटै खेल हारेर पुछारमा रह्यो । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । यस्तै नेपाल तेस्रो खेलमा यूएईसँग १३ रनले पराजित भएको थियो । यस्तै नेपालले चौथो खेलमा थाइल्यान्डलाई १ सय ६ रन र पाँचौँ खेलमा कुवेतलाई १ सय ६५ रनले हराएको थियो ।