पोखरा । पोखरा महानगरपालिका विशेष नगर सभाको आव्हान गर्न माग गरिएको छ । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ४ दफा १९ को उपदफा (३) ले गरेको व्यवस्था एवम् पोखरा महानगरपालिकाको नगर सभा सञ्चालन कार्यविधि २०७४ को परिच्छेद २ दफा (३) को उपदफा (३) व्यवस्थाअनुसार विशेष नगर सभाको आव्हान गर्न माग गरेका हुन् ।
विशेष नगर सभा आव्हान सम्बन्धी पत्र नेकपा एमाले सभादल पोखरा महानगरपालिकाको नेता समेत रहेकी वडा नं. १७ की वडाध्यक्ष राधिका शाही योगीले महानगर पालिका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरिन् । पत्र बुझ्दै महानगर प्रमुख आचार्यले अध्ययन गरेर कानूनी प्रक्रिया अनुसार अगाडि बढ्ने बताए ।
एमाले सभादल नेता योगीले आफूहरूको अधिकार अनुसार विशेष नगर सभाको आव्हान गर्न माग गरिएको बताइन् । विशेष नगरसभाको लागि विभिन्न प्रस्ताव राखिएका छन् ।
पहिलो प्रस्तावमा पोखरा महानगरपालिकाको मिति २०७७ मंसिर ४ गतेको ४३ औँ नगर कार्यपालिकाको निर्णय नं.८ अनुसारको दरबन्दी संरचना र पोखरा महानगरपालिकाको १४ औँ नगरसभाबाट स्वीकृत निर्णय नं. ५ अनुसारको दरबन्दी संरचनालाई महानगरको स्थायी दरबन्दी कायम हुने गरी स्वीकृत गर्ने साथै यस महानगरपालिकाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरी पूर्ण प्रतिवेदन आगामी नगर सभामा पेश गर्ने र उक्त प्रतिवेदन बमोजिम स्वीकृत दरबन्दी संरचना अनुसार स्थायी पदपूर्ति नभएसम्म हाल करार र ज्यालादारीमा कार्यरत रहेका सम्पूर्ण कर्मचारीहरूको करार सम्झौता नवीकरण गर्ने रहेको छ ।
अर्को प्रस्तावमा पोखरा महानगरपालिकाको कार्यपालिकाको बैठक सञ्चालन कार्यविधि २०७४ को दफा ११ र १२ विपरित सञ्चालन भएको ३७ औ नगर कार्यपालिकाको बैठकका निर्णयहरू खारेज गर्ने रहेको छ ।
तेस्रो प्रस्तावमा पोखरा महानगरपालिकाको २५ औ नगर कार्यपालिकाको बैठकको कर्मचारी व्यवस्थापन सम्बन्धमा भएका निर्णय पूर्ण कार्यन्वयन गर्ने एवम् महानगरपालिकाको स्वीकृत दरबन्दी संरचनामा नपरेका कर्मचारीलाई निजहरूको पदाधिकार रहेकै कार्यालयमा काज फिर्ता गर्ने रहेको छ ।
यसैगरी साविक स्थानीय निकाय र हाल स्थानीय तहमा अन्यत्र पालिकामा स्थायी नियुक्ति भई पोखरा महानगरपालिकामा कामकाज वा सरुवा भई आएका कर्मचारीहरूको अन्यत्र पालिकामा कार्यरत अवधिको आधारमा प्राप्त हुने सेवा सुविधाको दायित्व महानगरपालिकाले नलिने प्रस्ताव रहेको छ ।
पोखरा महानगरपालिकाको राजस्व बक्यौता असुली कार्ययोजना बनाई आगामी नगर सभामा पेश गरी कार्यान्वयन गर्ने सम्बन्धमा, १४ औ नगरसभाको निर्णय अनुसार मणिपालको राजस्व छुट सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, फोहोरमैला प्रसारकेन्द्रको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरी छलफल गर्नुपर्ने विषय प्रस्तावको रुपमा राखिएको छ ।
पोखरा सभागृह भवन निर्माण गर्ने, महानगरपालिकाको प्रशासकीय भवन निर्माण गर्ने, पोखरा बसपार्क निर्माण गर्ने, फेवातालको मापदण्ड कार्यान्वयन गर्ने, फोहोरमैला व्यवस्थापनको लागि अत्याधुनिक प्रशोधन केन्द्र निर्माण गर्ने विषय समेत प्रस्तावको रुपमा राखिएको छ ।
पोखरा महानगरको कात्तिक १५ गते बसेको ३७ औँ कार्यपालिका बैठकले महानगरमा सेवारत १० जना इन्जिनियर र १८ जना सबइन्जिनियरलाई हटाउने निर्णय गरेको थियो । उक्त बैठकमा एमालेका तर्फबाट विजयी वडाध्यक्ष र कार्यपालिका सदस्य अनुपस्थित थिए ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिले महानगर प्रमुख आचार्यलाई यसअघि १० बुँदे माग सहितको ध्यानाकर्षण पत्र बुझाएका थिए । दरबन्दी भन्दा बाहिरका कर्मचारी तुरुन्त फिर्ता गर्न तथा महानगरको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण तर्जुमा गरी लागू गर्न एमालेबाट निर्वाचित जनप्रतिनिधिको माग छ ।
समस्या समाधानका लागि भनेर बुधबार महानगरले सहजिकरण समिति गठन गरेको थियो । सहजिकरण समितिप्रति एमाले सहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले समेत विरोध जनाएका छन् ।