पोखरा । जिल्ला समन्वय समिति कास्कीले कास्की जिल्लास्थित कृषि तथा पशुपालन क्षेत्रका सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्‌घाटन गरेका थिए । पौडेलले कृषक र कृषि क्षेत्रमा समस्याहरूको पहिचान सहित समाधान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । प्रमुख पौडेलले पहिचान भएका समस्या समाधानमा केन्द्रीत हुन राज्यका सरोकारवाला निकायलाई गम्भीर हुन आग्रह गरे ।

पोखरा महानगर आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले कृषि क्षेत्रमा जिसस कास्कीले गरेको समन्वयात्मक भूमिका उल्लेखनीय भएको भन्दै यसले उचित प्रतिफल दिनेमा आफू विश्वस्त भएको उल्लेख गरे। कृषि क्षेत्रमा राज्यका सबै तहले न्यून बजेट विनियोजित गर्दा  काम प्रभावकारी हुन नसकेको उल्लेख गर्दै आगामी वर्षबाट बजेट वृद्धि गर्नेतर्फ ध्यानाकर्षण गराए।

कार्यक्रममा माछापुच्छ्रे गाउपालिका धितालका कृषक नवीनराज अधिकारीले  कार्यक्रम प्रभावकारी भएको भन्दै कतिपय पालिकास्तरका कार्यक्रम वास्तविक लक्षित कृषकसँग नपुगेको भन्दै दुखेसो पोखे । उनले उत्पादन देखि बजारिकरणका  समस्याले कृषक पीडित हुनुपरेको भन्दै त्यसको समाधानमा ध्यान दिन आग्रह गरे ।

कृषकहरूलाई पर्याप्त तालिम ,जानकारी अभाव व्यवसायिक कृषिमा बाधा भएको अर्का कृषक बृजलाल  चौधरीले उल्लेख गरे ।कृषि आबद्ध कार्यालयहरूका  सूचना आफूहरूको  पहुँचमा नभएको भन्दै वास्तविक किसान   मारमा परेको दाबी गर्दै  अनुदान समेत कृषकको पहुँचमा नहुँदा कठिनाइमा  परेको उनले उल्लेख गरे ।

पोखरा २२ का अर्का कृषक देविलाल बरालले बाली र नश्ल सुधारमा केन्द्रीत हुँदै बाली तथा पशुमा  लाग्ने रोग अर्को मुख्य समस्या भएको उल्लेख गरे । बादर आतङ्क र बाली तथा नश्लको समस्यामा केन्द्रीत हुन अनुरोध गरे ।

कार्यक्रममा कृषक रामकृष्ण लामिछानेले भैँसी तथा पाडा पाडी अनुदान सम्बन्धी ब्यवस्था  वैज्ञानिक नभएको भन्दै उन्नत जातका नश्ल उत्पादनका कार्यक्रम  व्यावसायिकतामा मात्रै केन्द्रीत हुनु दुखद भएको जिकिर गरे ।  कृषक दुर्गा बहादुर क्षेत्रीले किसानले बाली जोगाउन र पशुपालकले पशु जोगाउन मुस्किल परेको तर्फ  राज्यका निकाय गम्भीर हुनुपर्ने उल्लेख गरे ।

एग्रो टुरिजम सहकारीका अध्यक्ष डिल्लीराम बरालले युवा पुस्तालाई आकर्षण गर्ने खालका कार्यक्रम आवश्यक भएको उल्लेख गरे । उनले कृषि पर्यटनलाई सँग सँगै अगाडि बढाउँन सके मात्रै नीति तथा कार्यक्रम थाप प्रभावकारी बनाउन सकिने उल्लेख गरे। कृषि बिमा समेत प्रभावकारी बनाउन आग्रह गर्दै बरालले बिमा सचेतना कार्यक्रम थप प्रभावकारी बनाउनुपर्ने बताए।

आइ भी आइ पोटेनसियल इन्स्युरेन्स पोखराका प्रतिनिधि नवराज पौडेलले बिमाका नीति नियम र कानुनले साथ् दिएका बिषयमा बिमाले भुक्तानी गरिरहेको दाबि गरे । खाद्य ब्यवस्था गुणस्तर कार्यालय पोखराका प्रमुख  रन्जना के.सीले न्युनतम समर्थन मुल्यमा कृषकका उत्पादन आफूहरूले  खरिद गरिरहेको भन्दै दिर्घकालिन मौज्दान रहने खाद्यान्नको न्युनतम समर्थन मुल्यमा खरिद गरिने उल्लेख गरिन् ।

जिल्ला समन्वय समिति कास्कीका सदस्य राजु अधिकारीले भैरहेका सकारात्मक कार्यक्रमको समिक्षा सहित आगामी बर्ष परिमार्जित नीति कार्यक्रम लागु गर्न पालिकाहरूलाई आग्रह गरे ।

कार्यक्रममा उप प्रमुख सरिता मालले स्वागत र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए। कार्यक्रममा कास्की जिल्लामा कृषि तथा पशुपालन क्षेत्रमा आबद्ध कृषक एवम्, बिमा कम्पनी सहित अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0