पोखरा । ‘आप्रवासन र विकासको बारेमा शैक्षिक प्रवचन कार्यक्रम’ सोमबार पोखरामा सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम)को आयोजनामा कार्यक्रम भएको हो । सहआयोजक पृथ्वीनारायण क्याम्पस पोखरा रहेको थियो ।

गण्डकी प्रदेशलाई लक्षित गरेर गरिएको कार्यक्रममा सहप्राध्यापक पदमप्रसाद खतिवडाले अवधारणा प्रस्तुत गरेका थिए । उनले २०७८ सालको जनगणना अनुसार नेपालको समग्र जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशत भएपनि गण्डकी प्रदेशको जनसङ्ख्या वृद्धिदर त्यसभन्दा निकै कम ०.२५ प्रतिशत रहेको भन्दै यसले गण्डकी प्रदेशको जनसङ्ख्या व्यवस्थापन चुनौतीपूर्ण छ भन्ने देखाएको बताए । आन्तरिक बसाइँसराइ यहाँ १४.६ प्रतिशत छ । विदेशमा जानेको सङ्ख्या नेपालमा समग्रमा ७.५ प्रतिशत भएपनि गण्डकीमा ११ प्रतिशत भन्दा बढी रहेको तथ्याङ्क उनले प्रस्तुत गरे । गण्डकी प्रदेशबाट बाहिर अरु प्रदेशमा जाने र विदेश जाने समेतमा देशका अरु प्रदेशमा भन्दा धेरै रहेको भन्दै यसरी बाहिरिनेलाई यही प्रदेशमा कसरी आकर्षित गर्ने भन्ने चुनौती रहेको बताए ।

यहाँ बन्ने नीति तथा कार्यक्रमले यो क्षेत्रमा बढी ध्यान दिनुपर्ने देखिएको सहप्राध्यापक खतिवडाको भनाइ छ । कृषि, पर्यटन, उद्योग तर्फ आकर्षित गर्न सक्नुपर्नेमा उनको जोड थियो । यो प्रदेश पर्यटनको राजधानी समेत रहेकोले पर्यटनको क्षेत्रमा लगानी गर्ने युवालाई कस्तो वातावरण प्रदान गरेर यहीँ टिकाउने भन्नेमा ध्यान दिनुपर्ने बताए । समग्र देशको नीति तथा कार्यक्रम क्लासिकल खालका भएकोले अब अलि आक्रामक रुपमा बन्नुपर्नेमा उनको जोड छ ।

कार्यक्रममा आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनका लागि मिसनका नेपाल प्रमुख हेलन फोर्स, पृथ्वीनारायण क्याम्पसका निमित्त क्याम्पस प्रमुख गणेश प्रसाद चुवाई, गण्डकी विश्वविद्यालयका उपकुलपति डा. नवराज देवकोटा, पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दीपक राज भण्डारी, गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री वेदबहादुर गुरुङ श्याम, प्रदेश सभा सदस्य विन्दु पौडेल, नीति तथा योजना आयोग गण्डकीका पूर्व उपाध्यक्ष डा.श्रीकान्त खतिवडा, अध्येयता प्रज्वल शर्मा लगायतले आफ्ना भनाई र तर्क राखेका थिए । सहभागीहरू रामजी पोख्रेल, नरेश पौडेल, गेहेन्द्रेश्वर कोइराला, डा.शान्ता खत्री लगायत समेतले यस विषयमा आफ्ना धारणा र सुझाब राखेका थिए ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. योगेन्द्र बहादुर गुरुङले जनगणनाले देखाएका विषयमा छलफल गरिएको बताए । गण्डकी प्रदेशको बाहिर जाने दर बढी भएको भन्दै भविष्यमा यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने उद्धेश्यका साथ कार्यक्रम गरिएको उनको भनाइ थियो । छलफल महत्वपूर्ण र उपलब्धिमुलक भएको दावी उनले गरे ।

कार्क्रममा गण्डकी प्रदेशको नीति निर्माण तहमा काम गरेका र विश्वविद्यालयका प्राध्यापकहरु तथा विद्यार्थीहरू सहभागी बनेका थिए । यस्ता कार्यक्रम काठमौँमा भइरहेपनि काठमाण्डौँ बाहिर पहिलोपटक पोखरामा आयोजना भएको र यसलाई सबै प्रदेशमा पुर्‍याउने जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका विभागीय प्रमुख डा.गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0