धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन् । नेपालको थारू समुदायमा यो रोग बढी लाग्ने गरेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले संसारमा खोज र अनुसन्धानबाट पत्ता नलाग्ने र इमानदार तथा लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने भएकोले उत्पादित नयाँ चिकित्सकहरूलाई  सिकलसेलको औषधि वितरण गर्न तयार हुनुपर्ने बताएका हुन्।

उनले नेपालको यही धर्तीबाट ऋषि चरकले स्वास्थ्य विज्ञानको थालनी गरेको सन्दर्भ उल्लेख गर्दै सकभर निरोगी हुने र बिरामी भए सुलभरूपमा उपचार पद्धतिका लागि सरकारले ध्यान दिएको जनाए । प्रधानमन्त्री ओलीले नेपालका स्वास्थ्य संस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न, यस क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट गरे ।

समारोहमा ६५७ विद्यार्थी दीक्षित भएका छन् । प्रतिष्ठानका सन् २०१० देखि २०१७ ब्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएडी उपाधि हासिल गरिसकेका विद्यार्थीहरूलाई कुलपति ओलीबाट दीक्षित गरिएको हो । भारतका शिक्षाविद् प्रा डा ज्योतिर्मोय पलँ प्रमुख अतिथि रहेको कार्यक्रममा सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी थिए । कार्यक्रममा प्रतिष्ठानले प्रदान गर्दै आएको विभिन्न पुरस्कार उत्कृष्ट विद्यार्थीहरूलाई वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0