पोखरा । पोखरा महानगरपालिकामा पछिल्लो समय देखिएको करार कर्मचारी व्यवस्थापनको विवाद विधिसम्मत समाधान गरिने नगर प्रमुख धनराज आचार्यले बताएका छन् ।

नगर कार्यपालिकाको २५ औँ बैठकले गरेको निर्णय कार्यान्वयनका सम्बन्धमा ३७ औँ कार्यपालिका बैठकसम्म आइपुग्दा विवाद सृजना भएपछि त्यसको विधिसम्मत निरूपणको प्रयास गरिरहेको उनले बताए । महानगरपालिकाले लोकसेवा आयोग समक्ष कर्मचारी माग आकृति फारम भरी पठाएकोमा मागका आधारमा कर्मचारी आउने क्रम सुरु भइसकेको र महानगरपालिकाको कर्मचारी व्यवस्थापनका लागि ओ एन्ड एम गर्ने कार्य समेत अन्तिम चरणमा पुगेकाले आफूहरू कार्यपालिका कै निर्णय अनुसार करार मुक्त महानगरपालिका बनाउने अभियानमा लागेको उनले बताए ।

महानगरमा देखिएको समस्या समाधानका लागि विधि, प्रक्रिया र पद्धतिको अनुसरण मुख्य हुने उनको भनाइ छ । कार्यपालिकाले गरेको निर्णय मानेर जानुको विकल्प नरहेको र करार सेवाका सम्बन्धमा बुझाइमा फरक पर्न नहुने तर्फ उनले सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएका छन् । यसका लागि आफू निरन्तर छलफलमा रहेको उनले बताए ।

३७ औँ कार्यपालिका बैठकले गरेका निर्णय खारेजीको माग गर्दै कर्मचारी र जनप्रतिनिधिले निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूसँग वार्ता र छलफल समेत सुरु भएको छ । अहिले भइरहेको विरोधको राजनीतिक समाधान गरिने बताएका छन् । महानगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको प्रतिनिधित्व रहेको छ ।

 प्रमुख आचार्यले ओ एन्ड एम गर्ने कार्य ९० प्रतिशत सकिएको र अन्तिम छलफल गरेर टुङ्ग्याउने उनले बताए । अबको डेढ वर्षमा महानगरमा रहेका सबै करार कर्मचारी हटाइसक्ने दावी उनको छ । सुरुमा पचाउन गाह्रो भएको भएपनि विस्तारै सहज हुँदै जाने उनको भनाई थियो । उनले ३७ औँ कार्यपालिका बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले उपस्थित नहुने जानकारी नदिएको र बैठकको लागि गणपूरक सङ्ख्या पुगेकोले निर्णय गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1