पोखरा । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पुन: १३ दिन म्याद थप भएको छ । म्याद थपको लागि आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा पेश गरिएको थियो । दाहालको इजलासले पुन: १३ दिनको लागि म्याद थप गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
कार्तिक २ गते पक्राउ परेका लामिछाने माथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भैरहेको छ ।
लामिछानेलाई कास्की जिल्ला अदालतबाट पहिलोपल्ट ६ दिन, दोस्रोपल्ट ७ दिन र तेस्रोपल्ट १० दिन हिरासतमा राखेरै अनुसन्धान गर्नको लागि म्याद थप भएको थियो ।
उनीसँगै अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई समेत १३ दिनको म्याद थप भएको सूचना अधिकारी अधिकारीले जानकारी दिए । उनीहरू माथिको अनुसन्धान जारी रहेको कास्की प्रहरीको भनाइ छ ।
रास्वपा सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको दावी गर्दै विरोध प्रदर्शन गर्दै आएको रास्वपाले आज पनि पोखरामा प्रदर्शन गरेको थियो ।