पोखरा । पोखरा महानगरपालिकाको सुशासनको लागि भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले महानगर प्रमुख धनराज आचार्यलाई १० बुँदे माग सहितको ध्यानाकर्षण पत्र बुझाएका छन् । आइतबार नेकपा एमाले सभादल पोखरा महानगरपालिकाको नेता समेत रहेकी वडा नं. १७ की वडाध्यक्ष राधिका शाही योगीले प्रमुख आचार्यलाई हस्तान्तरण गरेको ध्यानाकर्षण पत्रमा एमालेको तर्फबाट पोखरा महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिको हस्ताक्षर रहेको छ ।
निर्वाचित भएको साढे दुई वर्ष भइसकेपनि महानगरको समग्र सेवा प्रवाह र विकास निर्माणको प्रगति निराशाजनक रहेकोले आम नगरवासी समक्ष जनप्रतिनिधिहरूको शिर निहुरिएको र बदनाम भएको भन्दै अब बाँकी रहेको अवधिमा आमनगरवासीको हितमा रहेर काम गर्नुपर्नेमा एमालेका जनप्रतिनिधिले जोड दिएका छन् । यसका लागि स्थानीय तहमा दलगत स्वार्थ भन्दा माथि रहेर कार्य गर्न उनीहरूको अपिल छ ।
ध्यानाकर्षण पत्रमा ३७ औँ कार्यपालिका बैठकमा निर्णय खारेज गर्न र २५ औँ कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गर्न माग गरिएको छ । १५ औँ नगरसभाको निर्णय अनुसार मणिपालको राजश्व छुट सम्बन्धमा गठित समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जोड दिइएको छ । दरबन्दी भन्दा बाहिरका कर्मचारी तुरुन्त फिर्ता गर्न तथा महानगरको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण तर्जुमा गरी लागू गर्न एमालेबाट निर्वाचित जनप्रतिनिधिको माग छ ।
यसैगरी फोहरमैला प्रशोधन केन्द्रको हालसम्मको प्रतिवेदन सार्वजनिक गर्न, राजश्वको दररेट निर्धारण प्रक्रिया पारदर्शी गर्न र राजश्व वृद्धि सम्बन्धी योजना बनाई तत्काल कार्यान्वयन गर्न माग गरिएको छ । प्रशासन महाशाखाबाट हुने अनावश्यक राजनीतिक चलखेल बन्द गर्न, अनावश्यक आर्थिक सहायता वितरण र फजुल खर्च नियन्त्रण गर्न, महानगरपालिकाको दीर्घकालीन योजना, पोखरा बसपार्क, सभागृह हल, प्रशासनिक भवन, फेवाताल र फिर्केखोलाको मापदण्ड लगायतका योजना तत्काल कार्यान्वयन गर्न एमालेबाट निर्वाचित जनप्रतिनिधिले माग गरेका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख आचार्यले मुख्य नेतृत्व आफ्नो भएपनि कार्यान्वयन गर्नको लागि सबैको उतिकै दायित्व हुने प्रतिक्रिया दिए । ध्यानाकर्षण पत्र बुझाए पछि प्रमुख आचार्यसँग छलफल भएको थियो । छलफलमा प्रमुख आचार्यले माग सम्बोधनका लागि सोमबार ५ बजेसम्मको समय माग गरेको एमालेका जनप्रतिनिधिले जनाएका छन् ।
आइतबार नै आन्दोलनरत कर्मचारीले समेत प्रमुख आचार्यसँग वार्ता गरेका थिए । कर्मचारीले आफ्ना मागको सम्बोधन सोमबार बिहान १० बजेसम्म गर्न प्रमुख आचार्यसँग आग्रह गरेका छन् । माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम गर्ने उनीहरूको तयारी रहेको बुझिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल पोखरा महानगर समिति, नेपाल निजामती कर्मचारी सङ्गठन पोखरा महानगर समिति र स्थानीय तह कर्मचारी सङ्घ नेपाल पोखरा महानगर समितिमा आवद्ध कर्मचारीले ३७ औँ नगर कार्यपालिकाले गरेका अवैधानिक निर्णय खारेज गर्न माग गरेका छन् । महानगरपालिकाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी तुरुन्त कार्यान्वयन गर्न तथा कर्मचारी माथिको राजनीतिक पूर्वाग्रह र भेदभाव बन्द गर्न कर्मचारीको माग छ ।