पोखरा । पोखराको बसुन्धरापार्क परिसरमा पोखरा–कुनमिङ मित्रता पार्क निर्माण गरिएको छ । पार्कको शुक्रबार एक कार्यक्रमकाबीच नेपालका लागि चीनका राजदूत चेन सङ, युनान प्रान्तका खेलकुद ब्युरो निर्देशक याङ जोङहुवा र पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतिलाल तिम्सिनाले संयुक्त रुपमा अनावरण गरे ।
अनावरण कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख तिम्सिनाले कुनमिङ र पोखरीबीचको मित्रताको प्रतीकको रुपमा मितेरी पार्क स्थापना गरिएको बताए । कुनमिङ र पोखराबीच सन् २०१३ मा औपचारिक भगिनी सम्बन्ध कायम भएको थियो । सम्बन्ध कायम भए पश्चात दुई देशीय पर्यटन र अनुभव आदान प्रदानको लागि विशेष अवसरहरू सिर्जना गर्ने गरेको छ । कुनमिङले चीनमा प्रख्यात गन्तव्यको रुपमा ख्याति कमाएको छ भने पोखराले नेपालको पर्यटनको राजधानीको रुपमा परिचय प्राप्त गरेको छ । यी दुई शहरहरूबीच व्यापार र लगानीको नयाँ सम्भावना पहिचान गर्नुका साथै पर्यटन र प्रविधिमा सहकार्य गरेर आपसी विकास र समृद्धिमा योगदान पुर्याउन सकिने उनको भनाइ थियो ।
दुई शहरमा सांस्कृतिक उत्सवहरू कला प्रदर्शनहरू आदान प्रदान गरेर आपसी मित्रताको गहिरो सम्बन्धलाई अझ मजबुत बनाउन सकिन्छ भन्ने विश्वास लागेको उनले सुनाए । भगिनी सम्बन्ध पश्चात दुई शहरको सम्बन्ध थप उचाइमा पुगेको बताए । मितेरी पार्क स्थापना गरी अनावरण कार्य भएपनि पार्कलाई थप व्यवस्थित बनाउन बाँकी रहेको भन्दै आगामी दिनमा पार्कलाई अझ व्यवस्थित बनाउनका लागि अगाडि बढ्ने प्रतिवद्धता उनले जनाए । यो प्रतीकले साझा भावना र प्रयत्नलाई थप मजबुत बनाउन सहयोग पुर्याउने विश्वास समेत कार्यवाहक प्रमुख तिम्सिनाले व्यक्त गरे ।
पोखरामा कार्तिक २४ गते आयोजना हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिताको छेको पारेर पार्कको अनावरण गरिएको हो । अनावरण कार्यक्रममा पोखराका पर्यटन व्यवसायी, पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि, पोखरा महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, चीनबाट आएका खेलाडी अफिसियल सहितको टोली, सञ्चारकर्मी, हिमालयन टुरिजम फोरममा आवद्ध व्यक्तित्वहरू लगायत रहेका थिए । ७० लाखको लागतमा पार्क निर्माण गरिएको बताइएको छ ।