काठमाडौँ । मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने संस्था नासा नेपालले नेशनल युथ कन्फरेन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी सम्बन्धी राष्ट्रिय युवा सम्मेलनका को आयोजना गर्ने भएको छ । विगत डेढ दशकदेखि नेपालमा मोटर स्पोर्ट्स, अटोमोबाईल मोबिलिटी तथा टुरिजम र रोड सेफ्टीमा क्रियाशील नेपाल अटोमोबाईल एसोसियसन (नासा) नेपालले नयाँ अभियानको शुभारम्भ गर्न लागेको हो ।
युवाहरूको राष्ट्रिय सञ्जाल युथ फर रोड सेफ्टी इन नेपालको व्यवस्थापनमा काठमाडौंमा हुने सम्मेलनमा दिगो सडक र सुरक्षित यातायात सम्बन्धी दुई दिने कार्यशाला सहितको विविध कार्यक्रम हुनेछ ।
कात्तिक ३० र मंसिर १ गते काठमाडौंमा हुने सम्मेलन नासा नेपालको संयोजन, अन्तराष्ट्रिय फेडेरेसनको सहयोग, राष्ट्रिय युवा परिषद्को र नासा फाउन्डेसनको सहकार्यमा हुन लागेको हो । कार्यक्रममा विभिन्न प्रदेशका युवाहरूको सहभागिता रहने र विभिन्न क्षेत्रका विज्ञ, सडकविद्, सरोकारवाला निकायका पदाधिकारीको उपस्थिति रहनेछ ।
बढ्दै गइरहेको सडक दुर्घटनाको भयावह अवस्था र यसबाट हुने मानवीय, आर्थिक र भौतिक क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले बताएका छन् । यस वर्ष हुने पहिलो राष्ट्रिय सम्मेलन आयोजनमा नासा नेपालको विशेष सहयोग रहने र कार्यक्रममा अन्तराष्ट्रिय वक्ताहरू, त्रिभुवन विश्वविद्यालय, बागमती प्रदेश सङ्घ, राष्ट्रिय युवा परिषद् समेतको उपस्थिति रहने छ ।
कार्यक्रममा सडक सुरक्षा सम्बन्धी प्रस्तुती, छलफल सेसन, कार्यशाला तथा विभिन्न विषयको अनुसन्धान रिपोर्ट प्रस्तुत गरिनेछ । युथ र सोसल मिडिया, मोटरसाईक्लिङ सेफ्टी तथा युवा उद्यमशीलताका सत्रहरू सम्मेलनमा विशेष रुपमा रहने नासा नेपालले जनाएको छ ।