पोखरा । यस वर्षको स्व. नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिएको छ । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लब, बाटुलेचौरले सञ्चालन गरेको सो पुरस्कार प्रत्येक २/२ वर्षमा मानव सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका संस्था तथा व्यक्तिलाई प्रदान गरिन्छ ।सो पुरस्कार यस वर्ष पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिएको क्लबले जनाएको छ ।

 पोखरामा क्लबले आयोजना गरेको २८ औं स्थापना दिवसको मूल समारोह, शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रमका अवसरमा नगद १५ हजार, सम्मानपत्रले आश्रमलाई सम्मान गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिर्खची, संस्थापक यादवचन्द्र देवकोटा, पूर्व अध्यक्ष जीवनारायण श्रेष्ठ, ताराप्रसाद तिमिल्सिना, सल्लाहकार खिमलाल अधिकारी र पूर्व सांसद कृष्ण थापाले आश्रमका पोखरा शाखा प्रमुख सदिश पुनलाई अर्पण गरे।

सोही अवसरमा पवित्र प्रेमनारायण शैक्षिक पुरस्कार वडा नं. १६ भित्रका सरकारी विद्यालयबाट कक्षा १२ को परीक्षामा उत्कृष्ट जिपिए ल्याउने बिन्ध्यवासिनी माविका छात्रा श्रेया आचार्य र छात्र आशिष पोखरेललाई जनही ५ हजार र प्रमाणपत्रले सम्मान गरियो । हिमालय क्लबले स्थापना गरेको एकल महिला सहयोग बाटुलेचौरका विबा नेपाली र अर्मलाका तिला विकलाई जनही ५ हजार प्रदान गरिएको क्लबका सूचना अधिकारी शिवराज देवकोटाले जानकारी दिए।

त्यस्तै नगद ५ हजार राशीको स्वर्गीय सावित्री लिलाधर उत्कृष्ट कृषक पुरस्कार यस वर्ष चमेरी गुफा कृषक समुहलाई प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिर्खचीले मानवीय सेवाले नै मानव सभ्यताको पहिचान हुने बताउँदै, क्लबले गरेको कार्य प्रशंसनीय रहेको बताए । कार्यक्रम संयोजक प्रकाश थापाको अध्यक्षतामा भएको कार्यक्रममा मानव सेवा आश्रम पोखरा शाखाका प्रमुख सदिश पुनले मानव सेवाको क्षेत्रमा आफ्नो संस्था सदैव लागिरहने बताउँदै, यस्ता सम्मानले थप उर्जा थपिएको बताए ।

क्लबका अध्यक्ष मोहन बहादुर थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव तुलबहादुर बस्नेतले गरेका थिए ।कार्यक्रममा क्षेत्री समाज पोखरा १६ का एन्जिला थापा र अपिशा थापाले नृत्य, रेशम बस्नेतको गायन, राष्ट्रिय परोपकार महासङ्घले भजन चुड्का, हिमालय योग साधना केन्द्रले योग प्रस्तुती राखेका  थिए ।

नियमित रुपमा क्लबले  रक्तदान कार्यक्रम समेत आयोजना गर्ने गरेको छ । यसैक्रममा भएको २७ औं रक्तदान कार्यक्रममा १ सय २ युनिट रगत सङ्कलन भएको क्लबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0