पोखरा । पोखराको अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा शुक्रबारबाट फोटो प्रदर्शनी सुरु भएको छ । ’युनान प्रोभेन्सियल माउन्टिनियरिङ एण्ड आउटडोर स्पोर्टस् एशोसिएसन’ को आयोजनामा सुरु भएको प्रदर्शनी ३१ डिसेम्बरसम्म चल्नेछ ।
प्रदर्शनी नेपालका लागि चीनका राजदूत चेन सङ, युनान प्रान्तका खेलकुद ब्युरो निर्देशक याङ जोङहुवा, पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतिलाल तिम्सिना, हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्वशङ्कर पालिखे लगायतको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरेर सुरुवात गरिएको हो ।
प्रदर्शनीमा युनान प्रान्त पर्वतीय खेल सामाग्री, खेल संस्कृति तथा परियोजनासँग सम्बन्धित विभिन्न तस्बिरहरू राखिएका छन् । “माउन्टेन्स मिट माउन्टेन्स पीपल आर क्लोज टु इच अदर” नाराका साथ प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको अवलोकन गरेर युनानको जीवनशैली बुझ्न सकिन्छ ।
अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरा, हिमालयन टुरिजम फोरम र चाइनिज ओभरसिज एसोसिएसन पोखराको सहकार्यमा प्रदर्शनी आयोजना भएको हो ।
पोखरामा कार्तिक २४ गते आयोजना हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिताको अवसर पारेर प्रदर्शनीको सुरुवात गरिएको हो । प्रदर्शनीको शुभारम्भ कार्यक्रममा पोखराका पर्यटन व्यवसायी, पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि, पोखरा महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, चीनबाट आएका खेलाडी अफिसियल सहितको टोली, सञ्चारकर्मी, हिमालयन टुरिजम फोरममा आवद्ध व्यक्तित्वहरू लगायत सहभागी बनेका थिए ।
त्यस लगत्तै युनान प्रान्तका खेलकुद ब्युरो निर्देशक याङ जोङहुवा सहितको टोली पोखराको ड्यामसाइडमा रहेको एस हेल्पिङ ह्याण्ड प्रालिको अवलोकनका लागि पुगेको थियो । नेपाली ढाकाको टोपी लगाइदिएर टोलीलाई त्यहाँ स्वागत गरिएको थियो । उनीहरूले एस हेल्पिङ ह्याण्ड प्रालिले गर्ने कार्यहरूको बारेमा जानकारी लिँदै अवलोकन गरे ।