पोखरा । देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेर जानकारी गराएको छ ।
आज दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।
यसैगरी आज राती कोशी प्रदेश , बागमती प्रदेशका र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।