पोखरा । नेपालीहरूको महान् पर्व तिहारको समयमा पोखरा तथा यस आसपास झण्डै साढे दुई करोडको फूलको कारोबार भएको छ । यो परिमाण व्यवसायी तथा किसानले उत्पादन गरेको फूलको हो । फूलको कारोबार कति भयो भन्ने एकिन तथ्यांक नभएपनि झण्डै साढे दुई करोडको हाराहारीमा फूलको कारोबार भएको अनुमान फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) जिल्ला समिति कास्कीका पूर्व अध्यक्ष दया कुमार द्वाले गरेका हुन् । उनले विगतमा जस्तो महँगो मुल्यमा फुल किन्नुपर्ने र इन्डियन फूल किन्नु पर्ने अवस्था यसपालि नभएको दावी गरे ।

कृषकले ल्याएको फूल बजारलाई पुग्ने गरी आएकोले पोखरा महानगरपालिका र फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीले तोकेको मूल्यमा विक्री भएको उनले सुनाए । लक्ष्मी पूजाको दिनमा केही मात्रामा इन्डियन माला पोखरामा भित्रिएपनि पछि बजारमा देखा नपरेको उनको भनाइ छ ।

नर्सरीमा आवद्ध व्यवसायीले लगाएको फूलको उत्पादन राम्रो भएपनि आफ्नै पाराले रोप्नेहरूकोमा भने केही समस्या देखिने गरेको गोल्डेन नर्सरीका सञ्चालक समेत रहेका उनले बताए । पानी बढी पर्नु र रोग बढी लाग्यो समस्या यो व्यवसायमा देखिने गरेको छ । समयको ख्याल नगरी अन्धाधुन्ध फूल रोप्दा आवश्यक पर्नु भन्दा पहिल्यै वा पछि पछि फूल्ने समस्या देखिने गरेको छ । यो समस्या नर्सरीबाट बेर्ना लैजानेकोमा भने नभएको दावी उनी गर्छन् । व्यवसायिक खेती गर्नको लागि पहिला बिउको छनोट र बारीको छनोट राम्रो गर्ने त्यसपछि कहिले रोप्ने जानकारी लिनु महत्वपूर्ण हुने उनले बताए । सबैले ध्यान दिएर फूल उत्पादन गर्ने हो भने यहाँबाट फूल बाहिर निर्यात गर्न सकिने उनको भनाइ छ । बिउ महँगो हुनु र जमिन नपाउनु व्यवसायीका प्रमुख समस्या रहेको उनले गुनासो गरे । यसको लागि सङ्घीय सरकारले पहल गरिदिनुपर्ने उनको आग्रह छ ।

फूल बिक्रीका लागि महानगरले बजार बजारमा स्टलको व्यवस्था गर्न सके प्रभावकारी हुने उनको भनाइ छ । फूलको बिक्री हरेक दिन हुने भएकोले उत्पादन भएको फूल खेर भने नजाने उनले बताए । यसपालिको तिहारमा पोखरामा फूलको थुङ्गाको तौलको आधारमा तीन ग्रेडमा विभाजन गरेर मूल्य निर्धारण गरिएको थियो । ५ देखि १० ग्राम तौल भएका फूल प्रति थुङ्गा २ रुपैयाँ, प्रतिमाला १ सय २० रुपैयाँ तोकिएको थियो । यसैगरी १० देखि १५ ग्राम तौल भएका फूल प्रति थुङ्गा ४ रुपैयाँ, प्रतिमाला १ सय ५० रुपैयाँ र १५ देखि २० ग्राम तौल भएका फूल प्रति थुङ्गा ५ रुपैयाँ, प्रतिमाला १ सय ८० रुपैयाँ  थियो । फूलको मूल्य प्रतिकेजी भने ३ सय ५० रुपैयाँ रहेको थियो । यहीँ मूल्यमा नै फूल बिक्री गरिएको व्यवसायीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0