पोखरा । चाडबाडको बेला हुन सक्ने आकस्मिक आगलागीका घटनाहरूलाई नियन्त्रणका गर्न उपयोग गरिने आगो निभाउने उपकरणहरू पोखरा महानगरपालिकाले मालेपाटन स्थित सशस्त्र प्रहरीको गणलाई हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले १० थान ती उपकरणहरू सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हेडक्वार्टर कालिकाको विपद् व्यवस्थापन हेर्ने भोला श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
विशेष गरी तिहारको मौकामा पटक पड्काउने र असावधानी बस् दुर्घटना समेत हुने गरेका कारण त्यसको तत्काल रेस्पोन्सका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले ४ केजी तौलका ५ थान र ६ केजी तौलका ५ गरी १० थान आगो निभाउने उपकरणहरू उपलब्ध गराइएको नगर प्रमुख आचार्यले बताए ।
उनका अनुसार आगलागीका बेला नजिक जान नसकिने र त्यसलाई थोरै पानीले समेत निभाउन सम्भव नहुने भएकाले त्यस्तो अवस्थामा यी उपकरणहरूको प्रयोगले आगो नियन्त्रणमा लिन सजिलो हुनेछ ।
हस्तान्तरण कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँ, वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्ग, वडा नं.२७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङ, वडा नं.१४ का वडा अध्यक्ष बोध बहादुर कार्की, प्रशासन महाशाखाका प्रमुख एवं महानगरपालिकाका सूचना अधिकारी कृष्ण तिवारी लगायतको उपस्थिति रहेको थियो ।
