पोखरा । यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषाविद् मुकुन्द शरण उपाध्यायलाई अर्पण गरिएको छ ।

जनस्तरबाट रकम सङ्कलन गरी शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरले स्थापना गरेको सो पुरस्कार भाषाविद् उपाध्यायलाई एक कार्यक्रमबीच अर्पण गरिएको  हो । नगद ५५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र सहितको पुरस्कार गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, प्रतिष्ठानका अध्यक्ष हरिबहादुर बरुवालले हस्तान्तरण गरे ।

लामो समय देखि अस्वस्थ रहेका साहित्यकार उपाध्यायले यसअघि “प्राकृत पोखरा” कृतिका लागी मदन पुरस्कार प्राप्त गरेका थिए । सम्मानित भएपछि साहित्यकार उपाध्यायले पोखराको प्राकृत साहित्यलाई बचाई राख्न, नयाँ पुस्तालाई आग्रह गरे ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले साहित्यमा दलगत राजनीति भित्रिएकोमा चिन्ता व्यक्त गर्दै, साहित्य राजनीति भन्दा धेरै माथि रहेको स्पष्ट पारे । उनले साहित्य, समाजको दर्पण भएको भन्दै, समाज उपयोगी साहित्य लेखनमा लाग्न सुझाव दिए । प्रतिष्ठानका अध्यक्ष हरिबहादुर बरुवालले आफ्नै क्षेत्रका राष्ट्रिय व्यक्तित्वलाई सम्मान गर्न पाउँदा संस्थाको गरिमा बढेको बताए ।

यो पुरस्कारबाट यसअघि मदनकृष्ण श्रेष्ठ हरिवंश आचार्य, डा रविलाल अधिकारी, साहित्यकार सरुभक्त श्रेष्ठ, वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल वात्स्यायन, चेतमानसिंह भण्डारी, जनगायक जीवन शर्मा, लोक गायिका हरिदेवी कोइराला, साहित्यकार हंशपुरे सुवेदी, भाषाविद् चुडामणि बन्धु र संस्कृतिकर्मी प्रा.डा. जगमान गुरुङ सम्मानित भैसकेका छन् ।

प्रतिष्ठानका संरक्षक कवि कुञ्जराज थापा, सल्लाहकार असफल गौतम, स्रष्टा छनौट समितिका संयोजक अग्निधर शर्मा, साहित्यकार गेहेन्द्रश्वर पोखरेली लगायतले साहित्य विकृत राजनीतिलाई सुधार गर्न तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका अध्यक्ष बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष दुर्गादेवी गौतम बस्नेतसञ्चालन सचिव दिपेन्द्र वानियाँले गरेका थिए । सोही अवसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा माल्यार्पण गर्दै उनी प्रति समर्पित कविता वाचन समेत गरिएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0