पोखरा । साविक विजेता बङ्गलादेशले साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनलमा नेपाललाई २–१ गोलले पराजित गर्दै बङ्गलादेशले दोस्रो पटक उपाधि माथि कब्जा जमाएको हो ।
बङ्गलादेशलाई जित दिलाउने क्रममा मनिका चक्माले सुरुआती अग्रता दिलाइन् । उनले ५३ औं मिनेटमा अमृता जैशीले गरेको गल्तीमा गोल गरेकी थिइन् । गोलरक्षक एन्जिला तुम्बापोले बचाउने प्रयास गरेपनि सफल हुन सकिनन् ।
एक गोलले पछि परेको नेपालले त्यसको चार मिनेटपछि नै अमिशा कार्कीको गोल मार्फत खेल बराबरीमा पुर्याएको थियो । प्रीति राईको थ्रु बलमा अमिशाले काउन्टर अट्याकमा गोल गरेकी थिइन् ।
८१ औं मिनेटमा बङ्गलादेशले पुनः अग्रता लिन सफल भयो । ऋतु पोर्ना चक्माले अनिता केसीलाई बिट गर्दै प्रहार गरेको बललाई नेपाली गोलकिपर एन्जिलाले बाहिर पठाउने प्रयास गरेपनि असफल हुँदा नेपाल खेलमा २–१ गोलले पछि पर्यो । त्यसपछि थप गोल हुन सकेनन् ।
योसँगै सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल प्रवेश गरेको नेपालका लागि इतिहास लेख्ने मौका गुमेको यसपालि समेत गुमेको छ । अघिल्लो संस्करणमा समेत फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।