पोखरा । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । सोमबार समाजवादी प्रेस सङ्गठन नेपाल जिल्ला समिति कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका उनले विभिन्न विचार मिल्ने पार्टी एकतावद्ध भएर जानुपर्ने भएपनि अहिले कुनै कम्युनिष्ट पार्टीसँग मिल्ने सोच नभएको र परिवेश समेत नबनेको बताएका हुन् ।
एमालेसँगको एकता बारे कल्पना नगरेपनि हुने बताएका उनले माओवादी केन्द्रसँगको एकताको बारेमा पनि परिस्थिति नबनेको खुलाए । ‘अहिले हाम्रो पार्टी कुनैपनि कम्युनिष्ट पार्टीसँग मिल्ने सोच पनि छैन, परिवेश पनि बनेको छैन त्यसैले कुनैपनि भ्रमपूर्ण कुरामा लाग्नुपर्ने आवश्यकता छैन ।’ उनले अगाडि भने, एमालेको बारेमा त कल्पनै नगरे हुन्छ, माओवादीको बारेमा पनि परिस्थिति बनेको छैन ।’ समाजवादी मोर्चा वा समयको आवश्यकता अनुसार विषयवस्तुको आधारमा सहकार्य गरेर अगाडि बढ्ने कुरा भने हुन सक्ने बताए ।
पार्टको प्रदेश अधिवेशन र जिल्ला अधिवेशन, जिम्मेवारीको बाँडफाँड छिट्टै गर्ने बताए । पार्टीमा दशौं महाधिवेशन पछि देखिएको असन्तुष्टि सामान्य रहेको बताएका उनले अब पार्टीले गतिविधि बढाउने योजना सुनाए । मंसिरमा हुन लागेको उप निर्वाचनमा एक्लै चुनाव लड्ने तयारीका साथ पार्टी अगाडि बढेको उनले जनाए।
अध्यक्ष नेपालले सरकारले दुरदृष्टि नराखी पूर्वाधार निर्माण गर्दा देशलाई आर्थिक भार थोपरिएको बताए । विकास निर्माणका पूर्वाधार बनाउँदा अध्ययन अनुसन्धान र आवश्यकताको आधारलाई ध्यान दिन सक्नुपर्नेमा त्यसो हुन नसक्दा लगानी खेर गएको उनको दावी थियो ।
‘सरकारले पर सम्मको कुरा नसोची एकैचोटी लगानी गर्दछ, बाटोमा त्यही अवस्था छ पुलको त्यही अवस्था छ थुप्रै विमानस्थलको त्यही अवस्था छ’ उनले भने ।
दुई पार्टी व्यवस्था भनेर नेपाली काङ्ग्रेसलाई झुक्याउदै एमाले एक्लैको फासिस्ट शासन ल्याउने परिवेश बनाउन दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागिएको उनको दावी थियो । आफ्नो पार्टीमा देखिएको विवाद मिलिसकेको भन्दै पार्टी फूटाउन भन्दा विकास निर्माणका काममा ध्यान दिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाए ।
सरकार परिवर्तनको सम्भावना तत्काल नदेखिएको बताएका उनले सहकारी ठगीका दोषीलाई कारवाही गर्नुपर्नेमा जोड थियो । यसमा राजनीतिक पूर्वाग्रह भने देखिन नहुने उनको भनाइ थियो ।
