पोखरा । पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेटको उपाधि राइजिङ पोखरा क्रिकेट क्लबले चुमेको छ । फाइनल खेलमा राइजिङ पोखराले पोखरा क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । 

कास्की जिल्ला क्रिकेट सङ्घको आयोजनामा अन्तर क्लब स्तरीय एक दिवसीय क्रिकेट च्याम्पियनसिपको फाइनलमा २२५ रनको लक्ष्य पाएको राइजिङले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा २२७ रन बनाउँदै उपाधि चुमेको हो । राइजिङको जितमा ओपनर अनिल गुरुङ नायक बने । उनले १०१ रनको शतकीय पारी खेल्दै नटआउट रहे । ११९ बलमा ८ चौका र २ छक्का समेत प्रहार गरे ।

 यस्तै कृष्ण पौडेल २७ रनमा नटआउट रहे । उनले १७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । विमल विक्रम खत्रीले ६९ रनको योगदान दिदैँ आउट भए । उनले ६६ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । नवीन पोख्रेल ५, निर्मल क्षेत्री १६, अस्विन अधिकारी १ रनमा आउट भए । पोखराका लागि देव शाहले १० ओभरमा ४६ रन खर्चदै सर्वाधिक ३ विकेट लिए । अमन सुवेदीले १ विकेट लिए । 

त्यस अघि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा क्रिकेटले ५० ओभरमा ८ विकेट गुमाउँदै २२४ रन बनायो । पोखराका लागि सुवास भण्डारी ८८ रनमा नटआउट रहे । उनले १०५ बलमा ९ चौका र १ छक्का प्रहार गरे । ओपनर मुस्कान थापाले ३२ रन जोडे । उनले ३१ बलमा ६ चौका प्रहार गरे । अर्जुन बुढाथोकी ११, रोशन पौडेल १३, मनिष भण्डारी ४, अनिस खड्का २, ईशान श्रेष्ठ १८, देव शाह १० र विजय राउत ६ रनमा आउट भए ।

अमन सुवेदी २ रनमा नटआउट रहे । राइजिङका लागि अञ्जन केसीले १० ओभरमा २ मेडन सहित ३० रन खर्चेर २ विकेट लिए । समिर भुजेलले १० ओभरमा ४३ रन खर्चेर २ तथा कृष्ण पौडेल र सविन खत्रीले समान १/१ विकेट लिए । पोखरा क्रिकेट क्लबका सुवास भण्डारी प्लेयर अफ द सिरिज घोषित भए । उनले जारी प्रतियोगितामा कुल ९ अङ्क बटुल्दै सर्वोत्कृष्ट घोषित भएका हुन् । उनले कुल चार खेलमा ८ विकेट लिए भने १२० रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0