पोखरा । जिल्ला समन्वय समिति कास्कीको टोलीले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा न ८ र पर्वत जिल्लाको मोदी गाउपालिका वडा १ जोड्ने भुरुङ्दी खोला पूल आयोजनाको स्थलगत अनुगमन गरेको छ। जिसस प्रमुख लिलाधर पौडेलको नेतृत्वमा उपप्रमुख सरिता माल, अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसि, कास्कीका समन्वय अधिकारी नवराज बराल, सडक डिभिजन कार्यालय पोखराका कार्यालय प्रमुख नवराज बास्तोला सहित प्राविधिक इन्जिनियर, निर्माण व्यवसायी सम्मिलित टोलीले अनुगमन गरेको हो।
सडक डिभिजन कार्यालय बागलुङ मातहतमा करिब ९ वर्ष अगाडि सम्झौता भए पनि हालसम्म करिब चालीस प्रतिशत काम समेत सम्पन्न हुन सकेको छैन । भर्खरै सडक डिभिजन कार्यालय कास्कीको मातहतमा हस्तान्तरण भए लगत्तै निर्माण कार्य अगाडि बढाउन पहल कदमस्वरूप सो अनुगमन गरिएको र छठ पर्व लगत्तै समन्वय बैठक मार्फत समाधानको उपाय खोजेर तत्काल निर्माण कार्य अगाडि बढाउने सहमति भएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताए।
खोलाका निर्माण पूरा गर्ने लक्ष्यमा मृत सञ्जिवनी निर्माण कम्पनीले निर्माण कार्य शुरु गरेर हाल निर्माण कार्य प्राय ठप्प सो पुल सडक सडक डिभिजन कार्यालय बागलुङमा २०७२ मंसिर ८ मा सम्झौता भएर साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि हाल सम्म ४० प्रतिशत काम मात्रै सम्पन्न भएको हो। ४० मिटर लम्बाइको दुई लेनको सो पुलको कुल लागत अनुमान ८ करोड ८८ लाख र ६ करोडमा निर्माण सम्झौता भएको सडक डिभिजन कार्यालय पोखराका कार्यालय प्रमुख नवराज बास्तोलाले जानकारी दिए।
