पोखरा । पोखरामा सोमबारबाट आठौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौ गण्डकी प्रादेशिक पुष्प मेला २०८१ हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) जिल्ला समिति कास्कीले आयोजना गर्ने मेला पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा कार्तिक १६ गतेसम्म चल्नेछ । तिहार तथा छठ पर्वलाई लक्षित गरेर फूलपारखी तथा आम सर्वसाधारणलाई सहज रुपमा फूलका बिरुवा उपलब्ध गराउन, गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्नको निमित्त मेला आयोजना गरिएको फ्यान कास्कीका अध्यक्ष एवं कार्यक्रम संयोजक रामप्रसाद सुवेदीले जानकारी दिए ।
प्रदर्शनीमा व्यवसायिक स्टल २० वटा, कृषि सामाग्री स्टल २ वटा र सूचना मूलक स्टल १ वटा गरी जम्मा २३ वटा प्रदर्शनी कक्ष रहने संयोजक सुवेदीले खुलाए । “सुन्दर नगरी पोखराको पहिचान व्यवसायिक प्रवर्द्धनमा गोदावरीको शान” भन्ने मूल नाराका हुने मेलामा विविध जातका गोदावरी फूलका बिरुवाहरू अतिरिक्त यसवर्ष भित्रिएका गोदावरी फूलका नयाँ प्रजातिका बिरुवा समेत प्रदर्शनी र बिक्री गरिनेछ ।
२०६२ सालमा स्थापना भएको फ्यानले पुष्प व्यवसायीको विकास, विस्तार र प्रवर्द्धनका लागि निरन्तर रुपमा मेलाको आयोजना गर्दै आएको छ । मेलामा यस सिजनमा फुल्ने सयपत्री मखमली तथा अन्य सिजनल फूलका बिरुवाहरू समेत राखिनेछ । मेलामा पुष्प व्यवसाय सञ्चालन गर्न चाहने तथा रुचि राख्नेलाई जानकारी दिने व्यवस्था समेत मिलाइएको अध्यक्ष सुवेदीले बताए । प्रदर्शनीको २० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेका छन् ।
फ्यान कास्कीका पूर्व अध्यक्ष दया कुमार द्वाले तिहारमा पोखरा तथा यस आसपासमा झण्डै २ करोडको फूलको कारोबार हुने आँकडा सुनाए । अघिल्लो वर्ष पोखरा आसपासका शतप्रतिशतकै गलामा नेपाली फूलको माला नै प्रयोग गरिएको दावी गरेका उनले यसपालि पनि नेपाली उत्पादनले पुग्ने बताए ।
पोखरामा यसपालीको तिहारको लागि सानो साइजको मालालाई १ सय रुपैयाँ, मझौलालाई १ सय ५० रुपैयाँ र ठुलो साइजको मालालाई १ सय ८० रुपैयाँ मुल्य तोकिएको बताइएको छ ।
