बागलुङ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले धौलागिरी अस्पताल बागलुङको आकस्मिक अनुगमन तथा निरीक्षण गरेका छन्।  अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई समेत जानकारी नगराई आकस्मिक रुपमा अस्पताल पुगेका स्वास्थ्यमन्त्री पाठकले विभिन्न विभाग, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको अनुगमन गरेका हुन्। 

स्वास्थ्यमन्त्री पाठकले बिरामी र बिरामीका कुरुवा भेटेर स्वास्थ्यकर्मी र सेवा प्रवाहबाट सन्तुष्ट भए नभएको बारेमा जिज्ञासा राखे ।  अस्पतालको बहिरङ्ग सेवा, आकस्मिक सेवा, अन्तरङ्ग सेवा, प्रयोगशाला, एक्सरे, प्रस्तुती, सुरक्षित गर्भपतन सेवा, सुरक्षित मातृत्व सेवा, दन्त सेवा, फार्मेसी, निशुल्क औषधी लगायतका सेवाहरूको अनुगमन गरे । 

जिम्मेवारी तोकिएका कर्मचारी खटिए नखटिएको, स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहार, फार्मेसीमा औषधीको व्यवस्था भए नभएको विषयमा जिज्ञासा राखेका स्वास्थ्यमन्त्री पाठकले अस्पतालमा देखिएका समस्या केही दिनमै समाधान हुने प्रतिवद्धता व्यक्त गरे । 

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रविरंजन प्रधानलाई भेट्न खोजेका स्वास्थ्यमन्त्री पाठकले उनी बिदामा रहेको जानकारी पाएपछि प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन डाक्टर किरण तिवारीलाई भेट गरेका थिए ।
सोधपुछका क्रममा मेडिकल सुपरिटेन्डेन्ट प्रधान बिदामा रहेको विषयमा अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मीलाई समेत जानकारी नरहेको पाएपछि स्वास्थ्यमन्त्री पाठकले जिम्मेवार चिकित्सकहरूले बिदामा रहँदा अन्य जिम्मेवार व्यक्तिलाई जानकारी गराउँन जरुरी रहेको बताए । 

आकस्मिक अनुगमनमा आएका स्वास्थ्यमन्त्री पाठकलाई डाक्टर तिवारीले जनगुनासो कम आउने गरि अस्पताललाई थप व्यवस्थित गरेर काम गर्न आफूहरू प्रतिवद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0